राजनीतिक आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर उद्धारमा खट्न काँग्रेस सभापति देउवाको अपिल

प्रतिनिधिसभा बैठक स्थगन गर्नु सरकारको बेइमानी भएको ठहर

काठमाडौं । अबिरल वर्षाका कारण देशका अधिकांश स्थानमा आएको बाढी पहिरोका कारण ६ दर्जनभन्दा बढी नागरिकको ज्यान गएकोप्रति नेपाली काँग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै राष्ट्रलाई परेको विपत्तिको समयमा आन्तरिक राजनीतिक विषय हुन् वा राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबै खाले राजनीतिक आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर पीडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुन अपिल गरेका छन् ।

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले असार २७ गने गहिरो दुःख व्यक्त गर्दै मृतक आत्त्माको चिर शान्तिको कामना गरेको थियो । आज जारी विज्ञप्तिमा ‘विपत्तिको यो घडीमा जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्ण रुपले उद्धार र राहतमा समर्पित हुने निर्णय गरेको छ ।
सभापति देउवाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिए

छ, ‘म नेपाली काँग्रेस पार्टीका सबै सदस्य, शुभचिन्तकहरुलाई उद्धार र साहतमा सहभागी हुन अपिल गर्दै सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले कार्य गर्न आग्रह गर्दछु ।’ सरकारको उद्धार, राहतकार्यको प्रभावकारिता अनगमन गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । काँग्रेसले वर्षा र पहिरोका कारण जीवन गुमाउने ६ दर्जनभन्दा बढी नागरिकको परिवारजनप्रति गहिरो समवेदना र मृतकको आत्माको चिरशान्तिको कामना समेत गरेको छ ।

यसैबीच प्रमुख प्रतिपक्ष दल कांग्रेसले साउन ८ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित गरिएकोप्रति असन्तुष्टि जनाएको छ । काँग्रेस सभापति देउवाले संसद सचिवालयले सोमबार सूचना टाँस गरी आउँदो बुधबारसम्म प्रतिनिधिसभा बैठक स्थगित गरेकोमा आपत्ति जनाएका हुन् । मुलुक बाढी, पहिरो र डुबानको राष्ट्रिय विपत्तिमा परेका बेला संसद स्थगित गरेर सरकारले गैह्रजिम्मेवार काम गरेको बताए । संसदमा छलफल गरेर अघि बढनुपर्ने बेला प्रतिनिधिसभा बैठकनै स्थगित गरेर सरकारले बेइमानी गरेको उनले बताए ।

सभापति देउवाले राष्ट्रिय संकटमा बेला संसद बैठकमा छलफल गर्ने संसार भरकै संसदीय प्रचलन भएपनि सभामुख कृष्णबहादुर महराले सरकारसँग डराएर प्रतिनिधिसभा बैठक स्थगित गरेको आरोप लगाए ।