साग खेलकूद तयारी : महिला कुस्ती खेलाडी इन्टरनेटको भरमा अभ्यास गर्दै

दुई वर्ष अघि १२औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा नेपालबाट प्रतिनिधित्व गरेकी कुस्ती खेलाडी कविता पुन यतिबेला कञ्चनपुरको भीमदत्तनगरमा बन्द प्रशिक्षणमा छिन्। आगामी मङ्सिरमा नेपालमै हुने १३औं सागमा कविताले ५९ किलो तौल समूहमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ। उनी कभर्डहलमा कुस्तीको अभ्यास निकै मेहनतका साथ गर्दै आएकी छिन्।

सागको १३औं संस्करणमा नेपाली महिला खेलाडी दोस्रो पटक अन्तर्राष्ष्ट्रिय प्रतियोगितामा सहभागी हुँदैछन्। प्रशिक्षणमा जुटेका खेलाडी आफ्नै देशमा हुने प्रतियोगितामा पदक दिलाउन सक्दो मेहनत गरिरहेका छन्।

५० देखि ७६ किलो तौल समूहमा समावेश हुने महिला खेलाडी बाह्य प्रशिक्षण र दक्ष प्रशिक्षकबाट प्रशिक्षण नपाएकामा चिन्तित छन्। ‘विदेशमा तालीम पाएको भए नयाँ नयाँ ‘टेक्निक’ सिक्न पाइन्थ्यो। अनुभवी खेलाडीसँगको अभ्यासले पदक जित्न मद्दत पुग्थ्यो’, कविताले भनिन्, ‘तर, खेल सामग्री पर्याप्त नहुँदा जेनतेन अभ्यास गर्नु परिरहेको छ।’

तेह्रौँ साग खेल्ने तयारीमा रहेकी कविता अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको अनुभव लिइसकेकी एक्ली महिला खेलाडी हुन्। कवितासँगै आठौं राष्ट्रिय खेलकूदको विभिन्न तौलसमूहमा स्वर्ण पदक जितेका १० खेलाडी प्रशिक्षणमा छन्।

भारतमा सम्पन्न १२औं सागमा पहिलो पटक कुस्ती समावेश गरिएको थियो। उक्त प्रतियोगितामा नेपालले दश तौल समूहमा महिला खेलाडीले प्रतिस्पर्धा गरेका थियो। तर नेपालको प्रदर्शन सहभागितामै सीमित रह्यो।

कविताले कुस्ती खेल्न थालेको पाँच वर्ष मात्र भयो। त्यसैले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्न दक्ष तथा बैदेशिक प्रशिक्षण हुनुपर्ने उनको माग छ। ‘बेला बेलामा अभ्यास र प्रतियोगिता खेल्न पाए देशलाई पदक दिलाउन सक्छौं,’ आत्मविश्वासी कविताले थपिन्, ‘वषौंदेखि एकनासको प्रशिक्षण छ। नाम मात्रको अभ्यासले विदेशी खेलाडीसँग प्रतिस्पर्धा सहज छैन।’

कविताले इन्टरनेटमा हेरेरै कुस्तीको अभ्यास गर्दै आएकी छिन्। ‘नयाँ नयाँ ‘टेक्निक’हरु थाहै हुँदैन। इन्टरनेटमा विदेशी खेलाडीको अभ्यास हेरेर त्यसलाई पछ्याउने हो,’ कविताले भनिन्।

५० किलो तौल समूहमा प्रतिस्पर्धाको तयारीमा रहेकी मनिषा सिंह भीमदत्त नगरपालिकामा कवितासँगै अभ्यासमा जुटेकी छिन्। कुस्ती खेल्न थालेको दुई वर्षमै मनिषाले राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेकी हुन्। उक्त पदकले मनिषाको चर्चा चुलिएको छ। ‘राष्ट्रिय स्तरको बन्द प्रशिक्षणमा छौँ। तर, तिर्खा लाग्दा प्यास मेटाउन घरबाटै पानी ल्याउनुपर्ने बाध्यता छ,’ मनिषाले पीडा सुनाइन्, ‘पदक प्राप्तिका लागि सक्दो मेहनत गरिरहेकी छु।’

दक्षिण एसियामा भारतीय महिला खेलाडी मात्र आफुहरु भन्दा अब्बल रहेको प्रशिक्षणमा रहेकी शृजाशु गिरी बताउँछिन्। ‘भारतसम्म लगेर अभ्यासको व्यवस्था गरेको भए खेलमा धेरै सुधार हुन्थ्यो,’ शृजाशुले भनिन्, ‘पदक जित्नका लागि लागि खेल्ने हो। त्यसका लागि राज्यले वातावरण बनाइ दिनुपर्छ।’

बन्द प्रशिक्षणमा खटिएका कुस्ती प्रशिक्षक राजेन्द्र चन्द सागमा महिला खेलाडीहरुले पदक जित्नेमा आशावादी छन्। ‘हाम्रो प्रतिस्पर्धा भारतीय खेलाडीसँग मात्र हो,’ प्रशिक्षक चन्दले भने, ‘महिला खेलाडीले पदक जित्ने बढी सम्भावना रहन्छ।’

बन्द प्रशिक्षणमा रहेका १० खेलाडीमध्ये ६ महिला खेलाडी कञ्चनपुरकै उत्पादन हुन्। छैटौं राष्ट्रिय खेलकूदमा महिला कुस्ती पहिलो पटक प्रदर्शनी खेलका रुपमा समावेश गरिएको थियो। प्रतिभावान खेलाडी जन्मिए पनि राज्यको ध्यान नपुग्दा महिला कुस्ती ओझेलमा परेको प्रशिक्षक चन्दको भनाइ छ। ठुलो संघर्षपछि प्रशिक्षणका लागि ‘म्याटकभर’ आएको प्रशिक्षक चन्दले बताए। रासस