१० वर्षमा पनि बनेन हुलाकी सडक, बनेको ठाउँमा पनि खाल्डाखुल्डी

धनगढी । तीन वर्षमा बनाइसक्ने गरी सुरु भएको हुलाकी सडक दशक पुग्दा पनि बन्न सकेको छैन । भारत सरकारको सहयोगमा सन २०१० बाट सुरु भएको यो राजमार्गअन्तर्गत कैलालीमा करिब २७ किलोमिटर सडक कालोपत्रे हुन सकेको छैन ।

जिल्लाभरिको करिब ९८ किलोमिटर सडकमध्ये ७० किलोमिटर सडक भारत सरकारको सहयोगमा यसअघि कालोपत्रे भइसकेको छ । बाँकी खण्ड नेपाल सरकार आफैले निर्माण गरिरहेको छ । तर निर्माणको काम कछुवा गतिमा भएकाले कहिले सम्पन्न हुने भन्ने निस्चित छैन ।

राजमार्ग निर्माण सम्पन्न नहुँदै कालोपत्रे गरिएको सडक भने जीर्ण बनेको छ । भारतले बनाएको कालोपत्रे सडक दर्जनौं स्थानमा भत्केर खाल्डाखुल्डी परेका छन् । मर्मत गर्नुपर्ने गरी कालोपत्रे सडक जीर्ण बनेको हुलाकी सडक आयोजना कार्यालय धनगढीका इन्जिनियर पदम मडैले बताए ।

भारत सरकारको एक अर्ब २६ करोड रुयैयाँ आर्थिक सहयोगमा भारतीय कम्पनी जीआर गाभरले सन् २०१० बाट निर्माण सुरु गरेको थियो । सडकको क्षेत्राधिकारमा विवाद देखिएका ठाउँमा काम गर्न नसकेर उक्त कम्पनी फिर्ता भएको हो ।

निर्माण गरेको सडक सन् २०१७ मा नेपाललाई हस्तान्तरण गरेर भारतले आयोजनाबाट हात झिकेपछि बाँकी ठाउँमा नेपाल सरकार आफैले निर्माण अघि बढाएको छ । निर्माण हुन बाँकी सडकमा ट्रयाक खोल्ने कामसमेत पुरा भएको छैन ।

योजनाका इन्जिनियर मडैका अनुसार कैलालीको बसन्ता क्षेत्रमा पर्ने १८ किलोमिटर, धनगढीमा साढे ६ किलोमिटर र सत्तीदेखि बर्दिया जोड्ने साढे २ किलोमिटर निर्माण हुन बाँकी छ । लम्की–टीकापुर–खक्रौला जोड्ने करिब २८ किलोमिटर हुलाकीको लिंक सडक, धनगढी क्याम्पसचोकदेखि बसन्ता तथा भजनी–टीकापुर खण्ड कालोपत्रे भइसकेको छ ।