देशभर बाढी पहिरोबाट ७८ जनाको मृत्यु, १७ हजार घरधुरी विस्थापित

उद्धार र राहतमा सेना सक्रिय

काठमाडौं ।  मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ । ३२ बेपत्ता र ४० जना घाइते भएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार चार सय २० घरधुरी विस्थापित भएका र तीन हजार तीन सय ६६ जनाको उद्धार गरिएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले ती घरधुरीका मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको र राहत वितरण कार्यलाई तीव्रता दिएको बताए । अझै केही दिन आंशिक र केही स्थानमा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागको छ ।

अहिलेसम्म बाढी पहिरो र डुबानबाट ३२ जिल्ला प्रभावित भएको छ । बेपत्ताको खोजी र राहत कार्य तीव्र पारिएको सरकारले जनाएको छ । तीनै तहका सुरक्षा निकायका ४१ हजार बढी जनशक्ति उक्त अभियानमा सक्रिय छन् ।

राजमार्ग खुलाउने प्रयास जारी

उदयपुर–गाईघाट–खोटाङ, खोटाङ–हलेसी–तुवाचुङ, महोत्तरी–जनकपुर–जलेश्वर (भाप्सी खोला डाइभर्सन), सिन्धुली–मध्यपहाडी लोकमार्ग, कान्ति लोकपथ (हेटौंडा), कुलेखानी–फाखेल–फर्पिङ, बेँसीशहर–मनाङ, धुञ्चे–रसुवागढी सडक खुलाउने प्रयास जारी रहेको सरकारले जनाएको छ ।

उद्धार र राहतमा सेना सक्रिय
नेपाली सेनाले वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित जनजीवन सामान्य बनाउन विपद् उद्धारका सामग्रीसहित खोज, उद्धार तथा राहत जारी राखेको छ । सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा जिल्ला विपद् व्यवस्थापन समितिद्वारा वितरण गरिने राहत सामग्री सेनाको हवाई साधनमार्फत सम्बन्धित स्थानमा पु¥याउन सहयोग गर्नाका साथै स्थानीय स्तरमा राहत वितरणमा सहयोग जारी राखेको जनाएको छ । असार २६ गतेदेखि परेको वर्षाका कारण मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबानबाट प्रभावित जनजीवन सामान्य अवस्थामा ल्याउन सेनाले झण्डै १५ हजार सैनिक खटाएको छ ।

यस्तै पहिराका कारण अवरुद्ध विभिन्न राजमार्ग पुनः सञ्चालनमा ल्याउन तथा तटीय क्षेत्रमा तटबन्ध निर्माण, नाला सफाइलगायत कार्य जारी राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । खोज, उद्धार र राहतका लागि काठमाडौँमा दुई एमआई १७, एक एएलएच, एक अगुष्टा तथा एक इक्युरेल हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । इटहरीमा एउटा बेल हेलिकप्टर र धनुषामा एउटा एमआई १७ हेलिकप्टर तयारी अवस्थामा राखिएको निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।