बाढी, पहिरो र डुबान प्रभावितलाई रेडक्रसको राहत वितरण तीब्र

काठमाडौं । मनसुन सुरु भएपछि ९० हजार परिवारका करिब चार लाख ५२ हजार मानिस बाढी, पहिरो र डुबानबाट प्रभावित भएका छन् । ४० हजार घरहरुमा क्षती पुगेको अनुमान रेडक्रसले गरेको छ । यो तथ्याँक देशका बढी प्रभावित ३२ जिल्लाहरुमा नेपाल रेडक्रसका निकायहरुबाट आएको विवरण भएको रेडक्रसले जनाएको छ ।

बुधबारसम्म नेपाल रेडक्रस सोसाइटीमार्फत तत्काल ओत लाग्न प्रभावित परिवारलाई एक हजार छ सय ६२ तारपोलिन वितरण गरिसकिएको छ । यसबाहेक ३१० परिवारलाई राहतको पूर्ण सेट वितरण गरिएको छ । उपलब्ध गराइएका सामग्री सेटमा तारपोलिन एक थान, कम्मल २ थान, महिलाको सारी एक थान, पुरुष धोती १ थान, विभिन्न खालका सिलाउने कपडा १६ मिटर, पकाउने भाँडाकुडाहरु र डोरी रहेको नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले जानकारी दिए । उनले प्रभावित क्षेत्रमा ३७४ तालिम प्राप्त स्वयंसेवक परिचालित रहेका र सयौँ स्वयंसेवकले सहयोग गरिरहेका बताए ।

शुक्रबार सम्म सर्वेक्षणको प्रतिवेदन तयार हुने
नेरेसोका विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले पानी पर्ने क्रम केही सुस्त भएसँगै बुधबारदेखि प्रभावित परिवारलाई सहयोगको तीब्रता बढाइएको बताइन् । निर्देशक अर्यालले शुक्रबारसम्म प्रारम्भिक सर्वेक्षणको नतीजा आउने बताइन् ।

यसैबीच, प्रदेश नं २ का सिरहा, सप्तरी, रौतहट, महोत्तरी, सर्लाही, मोरङ र धनुषामा प्रारभ्भिक द्रुत सर्वेक्षण सुरु गरिएको छ । ती जिल्लामा राष्ट्रिय विपद प्रतिकार्यका एक एकजना विशेषज्ञ बुधबार नै पुगेका छन् । सर्लाही पुगेका विशेषज्ञ सन्तोष न्यौपानेले टेलिफोनमा भने, “म चक्रघट्टामा खोलाको किनारमा बस्तीरहेका मानिसहरुको घर, चर्पी भत्केर दयनीय अवस्थामा बसेको देख्दा भावुक भएँ ।”

स्थानीय सरकारका प्रतिनिधिहरुसँगै त्यहाँ पुग्ने रेडक्रस पहिलो भएको स्थानीयको भनाइ छ । सर्लाहीमा मात्रै करिब ११ हजार घर भत्केको प्रारम्भिक तथ्याँक आएको र जिल्ला विपद समन्वय समितिले त्यसलाई आजै अनुमोदन गरेसँगै तत्काल राहत सुरु गरिने न्यौपानेले बताए ।

स्वास्थ्य समस्या वढ्न नदिन सहयोग
डुंगामा चढेर मात्र जान सकिने प्रभावित क्षेत्र धेरै छन् । प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या वढ्न सक्ने भएकोले पानी शुद्धिकरण ट्याव्लेट र साबुनका अलावा स्वास्थ्य सन्देशहरु दिईएको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । पौडेलले भने, “सर्पदंशबाट बच्ने, टोकिहालेमा अपनाऊनुपर्ने उपाय, पानी शुद्धिकरण र बालबच्चाको हेरचाहका विषयमा रेडियो शन्देश तयार गरी जिल्ला जिल्लामा पठाइएको छ । सामुदायिक संलग्नतामा नै शन्देशहरु प्रभावकारी हुन्छन् । ”

आपतकालीन तटबन्धको लागि सहयोग
अविरल बर्षा सुरु भएसँगै शुरक्षा फौजलाई भेल रोक्न आपत्कालीन तटवन्धको लागि नेपाल रेडक्रसका जिल्ला शाखाहरुले वोरा र जनशक्ति उपलव्ध गराएका थिए । बल्खु खोला, तीनथाना, सर्लाही बाग्मतीको तटवन्धमा आठ सय बोरा सहयोग गरिएको रेडक्रसका जिल्ला शाखाहरुले बताएका छन् ।

हटलाईन ११३० सहयोगी
महोत्तरीको बालुवाबाट जिवझ साहले सहयोगको लागि निशुल्क टेलिफोन हटलाइन ११३० मा जानकारी दिने वित्तिकै महोत्तरीको प्रतिकार्य समूहलाई यसबारे थाह दिइएको थियो । त्यहाँबाट साहले वडा नं ६ मा १०० घर डुवेका, औषधि पसलपनि बन्द भएको र खानेकुरा नपाएकोले सहयोगको लागि डायल गर्नुभएको थियो । झापा, उदयपुर, रौतहटबाट पनि यस्ता थुप्रै सूचनाहरु आइरहेका छन् जसले अवस्थाबारे बुझ्न र सम्बन्धित निकायमा सम्पर्क गर्न सहज बनाएका छन् ।