मालसामान ढुवानीः धमाधम सूचना प्रणालीमा इन्ट्री गराउँदै व्यवसायी

काठमाडौं । नक्कली बिलविजक जारी गरी राजश्व चुहावट तथा चोरी तस्करी रोक्न ढुवानी गरिने मालसामानको विवरण राजश्व अनुसन्धान विभागको केन्द्रीय सूचना प्रणालीमा इन्ट्री (प्रविष्ट) गराउने कार्य तिब्र रुपमा अघि बढेको छ ।

व्यवसायीहरुले धमाधम सूचना प्रणालीमा प्रविष्ट गराउँदै मालसामान ओसारपसार गरिरहेका छन् । साउन १ गतेदेखि सरकारले ढुवानीका सामान सूचना प्रणालीमा प्रविष्ट गराएर मात्रै ढुवानी गर्नुपर्ने व्यवस्था गरेको हो ।

आजमात्रै राजश्व अनुसन्धान विभागको ‘भेइकल एण्ड कन्साइनमेण्ट ट्रयाकिङ सिस्टम’मा आधारित केन्द्रीय सूचना प्रणालीमा एक हजार आठ सय ५२ कम्पनीले विवरण प्रविष्ट गराएर मालसामान ढुवानी गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । तीन दिनको अन्तरालमा मात्रै छ हजार आठ सय ७१ कम्पनीले सिस्टममा प्रविष्ट गराएर मालसामान ढुवानी गरेका छन् ।

‘अहिलेसम्म तीन हजार मुख्य कम्पनी तथा फर्मले युजर आइडी र पासवर्ड बनाएर सिस्टम प्रयोग गर्न थालेका छन्, त्यसका शाखा उपशाखा गरेर करीब १२ हजारले प्रयोग गर्न थालिसके, अब एउटा लयमा गैसक्यो’, महानिर्देशक मैनालीले भने । उक्त प्रणालीको प्रयोग गर्न नजानेका झण्डै पाँच सय व्यवसायीलाई प्रशिक्षण दिइरसकेको र यो क्रम जारी रहेको विभागले जनाएको छ । तीन महिना भने प्रचारात्मक कार्यक्रमलाई नै तीब्रता दिने विभागको भनाइ छ ।

यसअघि सरकारले लागू गरेको उक्त प्रणालीको विषयमा ट्रक व्यवसायी महासङ्घले विरोध गरेको थियो । उनीहरुले आज विभागमै पुगेर छलफल गरेपछि समस्या समाधान भएको छ । ‘नबुझेर केही कुराहरु बाहिर आएको रहेछ, उहाँहरुसँग छलफल भयो, यो त ट्रकवाला वा चालकले गर्नुपर्ने काम हुँदै होइन, यो त त्यस्ता मालसामान ढुवानी गर्ने फर्म, उद्योग वा कम्पनीले गर्ने काम हो भनेपछि उहाँहरु सम्झिएर जानु भएको छ’, महानिर्देशक मैनालीले भने ।

सरकारले यही साउन १ गतेदेखि नक्कली बिलविजक जारी गरी वा भन्सार छलेर अर्बौंको राजश्व चुहावट गर्ने तथा विभिन्न तरिकाले हुने आर्थिक अपराध रोक्न मालसामान ढुवानी गर्दा सूचना प्रणालीमा प्रविष्ट गराउनुपर्ने व्यवस्था लागू गरेको हो ।