असुरक्षित गर्भपतनले गयो युवतीको ज्यान

वीरगञ्ज । असुरक्षित गर्भपतन गराउँदा पर्सामा एक युवतीको ज्यान गएको छ । भारतको रक्सौल गएर असुरक्षित गर्भपतन गराउँदा पर्साको पोखरिया नगरपालिका ६ कि २० वर्षीया सावित्रीकुमारी शर्माको ज्यान गएको हो । अत्यधिक रक्तश्राव र दुखाईका कारण उनको ज्यान गएको हो । सावित्रीको उपचारकै क्रममा साउन ३ गते मृत्यु भएको हो ।

गर्भपतनपछि अवस्था गम्भिर भएपछि सावित्रीलाई वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारकालागि ल्याइएको थियो । गर्भाधारण गराएर सावित्रीलाई रक्सौल लगेर असुरक्षित गर्भपतन गराउने स्थानीय सिकेन्द्रप्रसाद चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।

उपचारकै क्रममा असार २२ गते घटनाबारे थाहा पाएको प्रहरीले स्थानीय सिकेन्द्रप्रसाद चौहानलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता डीएसपी अनन्तराम शर्माले जानकारी दिए ।

‘गर्भ बसेपछि उनीहरुले रक्सौलमा गएर असुरक्षित गर्भपतन गराएका रहेछन,’ उनले भने, ‘गर्भपतनपछि युवतीको स्वास्थ्य स्थिति बिग्रिएछ । वीरगञ्जमा उपचार गराउँदा युवतीको ज्यान गएपछि घटनाबारे अनुसन्धान सुरु गरेका हौं ।’

हाल उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । प्रहरीले सिकेन्द्रलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ ।

नेपालमा सरकारले गर्भपतनका लागि सूचीकरण गरेको स्वास्थ्य संस्थामा महिलाको मन्जुरीमा दक्ष स्वास्थ्यकर्मी वा नर्सद्वारा १२ हप्तासम्मको गर्भ सुरक्षित तरिकाले गर्भपतन गर्न सकिने कानूनी व्यवस्था छ । तर तराईका सीमावर्ती क्षेत्रमा भारतमा गई असुरक्षित गर्भपतन गर्ने प्रचलनसमेत रहेको छ । गर्भपतनलाई कानूनले मान्यता दिएको तराईका अधिकांश महिलालाई अहिले समेत थाहा छैन ।