मोरङबाट २९ हजारले लिए नागरिकता, एक हजार १११ लाई बैबाहिक अंगिकृत

मोरङ । मोरङ जिल्लाबाट एक वर्षको अवधिमा २९ हजार आठ सय ९६ ले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् । जसमा जिल्ला प्रशासन कार्यालयबाट १४ हजार दुई सय ५५, इलाका प्रशासन कार्यालय उर्लाबारीबाट सात हजार दुई सय ६० र इलाका प्रशासन कार्यालय रङ्गेलीबाट चार हजार चार सय ६६ ले सो प्रमाणपत्र लिएको जिल्ला प्रशासन कार्यालयद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

गएको आर्थिक वर्षमा १४ हजार ४९ जनालाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि वितरण गरिएको छ । सो प्रतिलिपि जिल्ला प्रशासन कार्यालयबाट आठ हजार ६ सय ४४ थान, इलाका प्रशासन कार्यालय उर्लाबारीबाट तीन हजार एक सय ८८ थान र इलाका प्रशासन कार्यालय रङ्गेलीबाट दुई हजार दुई सय १७ थान वितरण भएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

जिल्लाभरिबाट एक हजार एक सय ११ लाई वैवाहिक अङ्गीकृत नागरिकता पनि वितरण भएको जनाइएको छ । सो अवधिमा दुवै नामथर प्रमाणित एक सय ६२, नाबालक परिचयपत्र ६ सय ९४ , पेन्सन सिफारिस एक सय ७५ , हातहतियार नवीकरण एक सय ९७ थान, सङ्घसंस्था नवीकरण ६ सय ६२ वटा, ठाडो उजुरी सात सय ६५ वटामा कार्यान्वयन पनि सात सय ६५ वटै, सडक दुर्घटना दुई सय १३ मा मृत्युको सङ्ख्या ५५, घाइतेको सङ्ख्या तीन सय ३४ जना भएको सहायक प्रजिअ पाण्डेले बताए ।

राहदानी नियमिततर्फ दर्ता १५ हजार १८० वटा भएको जसमा जिल्ला प्रशासन कार्यालयमा १० हजार ४२६, इलाका प्रशासन कार्यालय उर्लाबारीमा चार हजार २५० र इलाका प्रशासन कार्यालय रङ्गेलीमा ५०४ राहदानीको लागि दर्ता भएको थियो । राहदानीका लागि द्रुत सेवा सिफारिस सङ्ख्या जिल्लाभरिमा ४०८ को भएको बताइएको छ ।

राहदानीबाट जिल्लाभरिमा कूल राजश्व पाँच करोड ३४ लाख २३ हजार ७५०, कम्पनी रजिष्ट्रेशन दस्तुर १६ लाख २२ हजार ५००, परीक्षा शुल्क २५ हजार, हातहतियारको इजाजत दस्तुरबाट एक लाख ९६ हजार ४७५, प्रशासनिक दण्ड जरिवना र जफतबाट ४५ लाख ४० हजार ५०६ र बेरुजु रकम रु तीन करोड ८६ लाख रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।