दिगो विकासका लागि चाँगुनारायणको कार्ययोजना तयार

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रभित्र दिगो विकासका सबै लक्ष्य हासिल गर्ने गरी कार्ययोजना तयार गर्ने घोषणा गरेको छ । गैर सरकारी संस्था महासङ्घ जिल्ला शाखाले आयोजना गरेको ‘नेपालमा दिगो विकास लक्ष्य १६ को स्थानीयकरण’ विषयक नगरपालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

उक्त घोषणा गर्दै नगरप्रमुख सोमप्रसाद मिश्रले शान्ति, न्याय, सुशासन प्रवद्र्धन गर्न सरोकारवाला निकाय तथा सामाजिक सङ्घसंस्थाहरुसँग साझेदारी गर्दै अघि बढ्ने बताए । उनले महिला हिंसा अन्त्य, बालअधिकारको सुनिश्चितता, स्वास्थ्यको अवसर, गुणस्तरीय शिक्षा, रोजगारको अवसर सिर्जना र सुरक्षाको प्रत्याभूति गराउने गरी नगरपालिकाले योजना बनाएर कार्य गरिरहेको जानकारी गराए । उनले विश्वले सन् २०३० सम्मका लागि तय गरेका १७ मध्ये नेपालको सन्दर्भमा आवश्यक १६ वटा लक्ष्य निर्धारित समयभन्दा अगावै गर्न नगरपालिका प्रतिबद्व रहेको बताए ।

दत्तात्रय र डोलेश्वरमा दर्शनार्थीको घुइँचो

साउन महीनाको पहिलो सोमबार आज भक्तपुरको प्रसिद्ध दत्तात्रय मन्दिर र डोलेश्वर महादेव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । प्रत्येक सोमबार भव्य मेला लाग्ने दत्तात्रय मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेपछि नगरपालिकाले मन्दिर परिसरमा यातायात प्रवेशलाई रोक लगाएको छ ।

दर्शनार्थीलाई सहज दर्शन गर्ने व्यवस्थाका लागि टोकन सिस्टम लागू गर्नाका साथै स्वयम्सेवक परिचालन गरिएको छ भने लाइन बसेको दुई घण्टासम्ममा दर्शन गर्ने व्यवस्था गरिएको छ । मन्दिरमा भक्तपुरसँगै काठमाडौँ उपत्यका र विभिन्न जिल्लाका दर्शनार्थी आएका थिए ।

त्यसैगरी सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको भीड लागेको थियो । भगवान् शिवको भव्य आराधना, तीर्थ व्रत गर्ने महीना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको आज बिहानैदेखि भीड लागेको हो ।

त्यसैगरी सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आज नन्दिकेश्वर महादेव मन्दिरमा शुरु भएको मेलाको उद्घाटन गरेका थिए । कार्यक्रममा कलश यात्रासमेत गरिएको थियो ।