नेपाल कतारसँग ४ विकेटले पराजित

काठमाडौं- आइसिसी टी-२० विश्वकप छनोट अन्तरगत एसिया फाइनलमा प्रमुख दाबेदारको रुपमा हेरीएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले खराव सुरुवात गरेको छ । सिंगापुरमा जारी एसिया फाइनलमा मंगलबार भएको आफ्नो पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित हुँदै नेपालले प्रतियोगितामा खराव सुरुवात गरेको हो ।

नेपालले दिएको १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको कतारले १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रन जोडे । उनले मात्र ३२ बलमा ६ चौका प्रहार गर्दै ४१ रन जोडे । त्यस्तै कमरन खानले २२, जाहीर इब्राहिमले १२ र मुहम्मद तानवीरले ११ रन जोडे । नोमन सरवान १५ र मोहमद रिजलान ९ रनमा अविजित रहे ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ३३ रन खर्चेर तीन विकेट लिएका हुन् । त्यस्तै करन केसीले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय रन २२ जोडेको थियो । मध्यम सुरुवात गरेको नेपालका लागि युवा ब्याट्सिम्यान दीपेन्द्र सिंह ऐरीले ३४ रनको पारी खेलेका थिए ।

चौथो नम्बरमा मैदान प्रवेश गरेका ऐरीले ३५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३४ रन जोडेका हुन् । त्यस्तै कप्तान पारस खड्का २८ रनमा पेभिलियन फर्किए । उनले १७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २८ जोडे ।

दोस्रो विकेटका रुपमा पेभिलियन फर्किएका ज्ञानेन्द्र मल्लले २४ बलमा २ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे । सोमपाल कामीले ११ रन जोड्दा शरद भेषावकरले ७, विनोद भण्डारीले ३, सन्दीप लामीछाने ९,बसन्त रेग्मी १, करन केसी ४ र अभिनास बोहरा शुन्य रनमा पेभिलियन फर्किए ।

कतारका लागि इकबल हुसेइनले सर्वाधिक तीन विकेट लिए । त्यस्तै तामुर सज्जाद र नौमन सरवारले दुई दुई तथा इनाम उल हकले एक विकेट लिए ।