नसर्ने रोग लागेका बिरामीको सङ्ख्या बढ्दो

कर्णाली प्रदेश र प्रदेश नम्बर २ मा धेरै

काठमाडौं । बदलिँदो रहनसहन र खानपानका कारण मिर्गौला, मुटु, श्वासप्रश्वास र मधुमेहजस्ता नसर्ने रोगीका सङ्ख्या बढेको एक अध्ययनले देखाएकोे छ । अस्पतालमा आएका बिरामीका सङ्ख्याका आधारमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तीन वर्ष लगाएर सम्पन्न गरेको नसर्ने रोगसम्बन्धी अनुसन्धानले ती चार प्रकारका रोगी बढिरहेको उजागर गरेको छ ।

सन् २०१६ बाट शुरु भई सन् २०१८ मा ७२ जिल्लाका २० वर्षमाथिका १३ हजार बिरामीमा गरिएको सो अनुसन्धानले कर्णाली प्रदेशमा र प्रदेश नम्बर २ मा ती चार प्रकारका रोगी उच्च भेटिएको बिहीबार आयोजित कार्यक्रममा जानकारी गराइयो ।

प्रारम्भिक प्रतिवेदनले कूल मृत्युमध्ये ती रोगका कारण १० प्रतिशत रहेको उल्लेख गरेको छ । परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले सरुवाभन्दा नसर्ने रोगीको सङ्ख्या र मृत्युसमेत बढेको जानकारी दिँदै यसमा सरकारले लगानी बढाउनुपर्ने सुझाव दिए । ‘नसर्ने रोग बढ्नुमा बदलिँदो रहनसहन र खानपानका मुख्य कारण रहेको देखियो,’ उनले भने ।

सरकारले मिर्गौला, मुटु, क्यान्सर रोगीको उपचार गर्न केही आर्थिक सहयोगसमेत गर्ने गर्दछ । कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान रणनीति विसं २०७६ सार्वजनिकसमेत गरिएको थियो । स्वास्थ्य अनुसन्धानलाई गुणस्तरीय बनाउँदै अनुसन्धानबाट प्राप्त प्रमाण र तथ्यमा आधारित स्वास्थ्य पद्धतिको विकास गर्ने मुख्य ध्येयले परिषद्ले स्वास्थ्य सेवा सङ्घीयतामा गइसकेपछि पहिलोपटक सो रणनीति जारी गरेको हो ।

रणनीतिमा स्वास्थ्य अनुसन्धान प्रणालीको संस्थागत संरचना, जनशक्ति र पूर्वाधार क्षमतालाई सङ्घीयताअनुरुप विकास गर्दै जाने, अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणलाई नीति, निर्माण, योजना तर्जुमा कार्यान्वयनमा उतारिने, अनुसन्धानलाई विश्वसनीय र गुणस्तरीय बनाउन अन्तर्राष्ट्रिय मूल्य र मान्यता तथा मापदण्डअनुसारको बनाउने, अनुसन्धान संस्कृति, नवीनतम ज्ञान, सीप र प्रविधिको विकासलाई प्रवद्र्धन तथा प्रोत्साहन गरिने छ ।

यसैगरी अनुसन्धानको क्षेत्रमा साझेदारी प्रवद्र्धन गरिने, देशमा उपलब्ध जडीबुटी, खनिज, आयुर्वेद तथा परम्परागत चिकित्सासम्बन्धी ग्रन्थ, ज्ञान, सीप आदिको थप अनुसन्धान गर्र्दै अभिलेखीकरण गरिनेलगायतका रणनीति रहेका छन् ।