काँग्रेसको बैठक, नेविसंघको विधान टुंगो लगाइँदै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको विधान टुंगो लगाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बोलाइएको बैठकले नेपाल विद्यार्थी संघको विधान पारित गर्नेछ।

पार्टीले संघको विधान अनुमोदन नगर्दा १२ औं महाधिवेशनको पूर्वर्निधारित कार्यातालिका प्रभावित भएको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा संघको विधान पारित गर्नुको साथै समसामयिक विषयमा पनि छलफल हुने जानकारी दिए।

बैठकमा पार्टीको विधान मस्यौदा समितिले देशका विभिन्न १२ ठाउँमा गरेको छलफल र त्यसबाट आएका सुझावलाई केन्द्रीय समिति बैठकलाई जानकारी गराउने छ।

कञ्चनपुरकी निर्मला पन्त देखि देशको विभिन्न ठाउँमा हत्या, बलत्कार जस्ता घटना बढी रहँदासमेत सरकारले दोषीलाई पत्ता लगाउन असफल भएको निष्कर्षमा पुगेको कांग्रेसले महंगी, भ्रष्ट्राचार जस्ता विषयमा पनि आफ्नो धारणा बाहिर ल्याउने प्रवक्ता शर्माले बताए ।