समावेशी आयोगका अध्यक्षद्वारा तीन महिनामै राजीनामा

काठमाडौं । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा शान्तराज सुवेदीले पदबाट राजीनामा दिएका छन् । सुवेदीले यही साउन १२ गतेदेखि लागू हुने गरी बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘नेपालको संविधानको धारा २५८ को उपधारा (४) को खण्ड (क) बमोजिम यही साउन १२ गतेदेखि लागू हुने गरी आयोगका अध्यक्ष डा सुवेदीले पदबाट राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लिखित राजीनामा दिनुभएको छ’ राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ ।

पूर्वअर्थ सचिव डा सुवेदी गएको चैत ७ गते आयोगको अध्यक्षमा नियुक्त भएका थिए । उनको राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।