स्थायी गर्न माग गर्दै राहत शिक्षक आन्दोलित

काठमाडौं । पेशागत सुरक्षाको माग गर्दै राहत शिक्षकहरुले आन्दोलित भएका छन् । सामुदायिक विद्यालयमा आफूहरु लामो समयदेखि कार्यरत रहेकाले प्रक्रिया पु-याएर स्थायी गर्न माग गर्दै राहत शिक्षकहरुले आज राजधानीमा प्रदर्शन गरेका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले आफूहरुलाई अस्थायी सेवामा लग्नुपर्ने माग विगतदेखि नै सरकारसँग राख्दै आएको समितिका काठमाडौं महानगरपालिका समितिका अध्यक्ष शङ्करराज न्यौपानेले बताए । उनले भने, ‘अस्थायीको प्रक्रियामा लगेपछि हामी त्यहीँबाट स्थायीको प्रक्रियामा सहभागी हुनेछौँ ।’

सहभागी राहत शिक्षकहरुले स्वतः स्थायी नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलनमा सहभागी हुन कैलालीबाट काठमाडौं पुगेका शिक्षक शिद्धराज जोशीले बन्दै गरेको संघीय शिक्षक ऐनमा राहात शिक्षकका कुरा पनि समेटेर नयाँ नीति सहित स्थायी बनाउनु पर्ने आफुहरुको मुख्य माग रहेको बताए ।

शिक्षा मन्त्रालयले भोली वार्ताको लागि बोलाएको बताउँदै जोशीले आफुहरुका माग सुनुवाई नभए दशै र तिहार पनि काठमाडौंमै मनाउने तर आन्दोलन नरोकिने संघर्ष समितिको निस्कर्ष रहेको बताए ।

सशस्त्र द्वन्दका समयमा सरकारले दरबन्दीका शिक्षक अपुग भएका विद्यालयमा राहत शिक्षकको व्यवस्था गरेको थियो । देशभरका सामुदायिक विद्यालयमा ४० देखि ४२ हजार राहत शिक्षक कार्यरत रहेको समितिको दाबी छ । विभिन्न संस्था र विद्यालयको निजी स्रोतबाट राहत शिक्षकले तलब सुविधा पाइरहेका छन् ।