निर्मला हत्या प्रकरण : अनुसन्धानमा संलग्न थप दुई प्रहरी निलम्वनमा

काठमाडौं । निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न थप दुई जना प्रहरी निलम्बनमा परेका छन् । घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको आरोपमा प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्वनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया पन्तको हत्याबारे छानविन समितिको सिफारिशमा घटनास्थल अनुसन्धान अधिकृतका रुपमा खटिएका धामी र साउदलाई निलम्वन गरेको हो । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले अनुसन्धानका क्रममा गम्भीर लापरवाही गरेको पाइएकाले धामी र साउदलाई निलम्वन गरिएको जानकारी दिए ।

दुवै जनालाई प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम ६ (क) र (ग) अनुसार निलम्वन गरिएको हो । घटनामा दोषी देखिएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित पाँच जनालाई यसअघि निलम्वन गरिसकेको छ ।