बैतडी–दार्चुला जोड्ने पुल जीर्ण

बैतडी । बैतडी–दार्चुला जोड्ने चमेलिया नदीमा हरेको पक्की पुल जीर्ण बन्दै गएको छ । आर्थिक वर्ष २०५९÷६० मा निर्माण गरिएको सो पुलले बैतडीलाई दार्चुलासँग जोडेको छ ।

दार्चुला–बैतडी सडक खण्डमा पर्ने सो पुल जीर्ण अवस्थामा पुगेपनि मर्मतको पहल नभएको स्थानीय व्यापारी सुरेश श्रेष्ठ बताउँछन्। दार्चुलालाई सडक सञ्जालसँग जोड्ने १२० मिटर लामो सो पुल रु पाँच करोडमा निर्माण भएको हो । सोह्र वर्षअघि निर्माण पूरा भएको पुलको समयमा मर्मत र संरक्षण नहुँदा कमजोर बन्दै गएको छ । “निर्माणपछि पुल मर्मत गरिएको छैन,” उनले भने ।

उक्त पुल निर्माणसँगै दार्चुला राज्यको सडक मार्गसँग जोडिएको हो । गुणस्तरयुक्त काम नहुँदा पुल जीर्ण बदै गएको स्थानीयवासी तिलक साउदले बताए । चमेलिया पुलले बैतडी र दार्चुलाको आर्थिक वृद्धिमा टेवा पु¥याएको छ भने देशका विभिन्न स्थानबाट आउने सयौँ यातायातका साधन यही पुल भएर भित्रिने गरेका छन् । क्षमताभन्दा बढी र ठूला यातायातका साधनका कारण पुल जीर्ण बन्दै गएको हो । वर्खामा पानी पुलमै जम्मा हुने गरेको स्थानीयवासी अमरराज जोशी बताउँछन् । “पानी जम्मा भएका बेला पैदल हिँडडुल गर्नसमेत सकिन्न,” उनले भने ।

पुलमा आवतजावत गर्दा समेत हल्लिने गरेको स्थानीयवासी दानसिंह थलाल बताउनुहुन्छ । पुलको खम्बामा खिया लागेको छ । पुल मर्मतमा स्थानीय तहले समेत चासो देखाएका छैनन् । नदीले कटान गर्न थालेपछि पुल झन जोखिममा परेको छ । बजार क्षेत्रको फोहर फाल्ने ठाउँ पनि चमेलिया नदी बनेको छ । बैतडी–दार्चुला सडक आयोजनाले निर्माण गरेको उक्त पुलको अवधि ५÷६ वर्ष मात्रै भएको सडक डिभिजन कार्यालय पाटन, बैतडीका इञ्जिनीयर शङ्कर खनालले बताए ।