विचाराधीन मुद्दामा समाचार नगर्नु : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन् ।

संवैधानिक तथा कानून पत्रकार मञ्चले गरेको दसैं, तिहार र छठलगायत चाडपर्वका अवसरमा आयोजना गरेको चियापन कार्यक्रममा बोल्दै मिश्रले विचाराधीन मुद्दाका समाचार लेख्नाले न्याय सम्पादन र मानव अधिकारमा क्षती पुगेको धारणा राखेका छन् ।

उनले प्रत्येक निकायमा सुधारको आवश्यकता भएको उल्लेख गर्दै न्यायलयभित्र पनि सुधार गरेर अगाडि बढ्न आफू तयार रहेको र त्यसका लागि कानून व्यवसायी र सञ्चारमाध्यमको सहयोगको आवश्यकता भएको बताए ।

न्यायलयको सुधार गरी जनतामा न्यायको अनुभूति दिलाउने तरिकाले न्यायलयले काम गरिरहेको समेत स्पष्ट पार्दै प्रधानन्यायाधीश मिश्रले प्रेसलाई आफूले सम्मान गर्ने र न्यायलयमा पनि प्रेसलाई बाटो खुला छ भने ।

मञ्चका अध्यक्ष लीलाधर उपाध्यायले विगतमा न्यायलयमा धेरै उतार चढाव आउने गरेको स्मरण गराउँदै जनताले न्यायको अनुभूति गर्ने गरी न्याय सम्पादन गर्नुपर्नेमा जोड दिए ।