खाद्यले शुक्रबारदेखि खसी बोका बिक्रि गर्ने

काठमाडौं । नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङ्ग्रा बिक्री वितरण सुरु गर्ने भएको छ ।

नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा बिक्री गर्ने जनाएको छ । संस्थानले दसैंका लागि काठमाडौंमा १ हजार गोटा खसी र १ हजार गोटा च्याङ्ग्रा बिक्री गर्ने तय जनाएको छ ।

संस्थानले यस वर्ष बितरण गरिने खसिबोकाको मूल्य समते निर्धारण गरेको छ । गतवर्षभन्दा यसपाली सामान्य मूल्य बढाइएको छ ।

संस्थानका अनुसार खसीबोका प्रतिकिलो ५ सयका र च्याङ्ग्रा प्रतिकिलो ७०० मा उपलब्ध गराइने छ ।

संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार संस्थानले निर्धारण गरेको खसीको ५१० र च्याङ्ग्राको ७१० रुपैयाँ प्रतिकिलोको मूल्यमा १० रुपैयाँ उपभोक्तालाई छुट दिइएको छ ।

संस्थानले गत वर्ष खसीबोका प्रतिकिलो ४ सय ५५ रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ६ सय ७५ रुपैयाँमा बिक्री गरेको थियो । यस अनुसार खसीबोकामा प्रतिकिलो ४५ रुपैयाँ र च्याङ्ग्रामा २५ रुपैयाँ मूल्य वृद्धि भएको छ ।