शान्ति र स्थायित्वका लागि समुदायको साथ चाहिन्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताएका छन् । प्रहरी प्रधान कार्यालय काठमाडौंमा आज आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र समुदायसँगको सहकार्यमा मात्रै शान्ति र सुशासनको प्रत्याभूति हुने उल्लेख गरे ।

‘देशको समस्या भनेको शान्तिसुरक्षा र स्थायित्वलाई कसरी सुदृढ गराउने भन्ने हो,’ गृहमन्त्री थापाले भने, ‘अपराधलाई निस्तेज पार्न समन्वय जरुरी छ ।’ प्रहरीले प्रस्तुत गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शान्ति सुरक्षा र स्थायित्वका लागि फलदायी हुने गृहमन्त्री थापाको विश्वास छ । उनले समुदायको साथ र संयुक्त साझेदारीले मात्रै स्थायित्व हुने उल्लेख गरे ।

प्रहरीले ल्याउन लागेको संयन्त्र हरेक घटनाको निगरानी गर्न सक्षम हुने आशा उनको छ । सुशासन र सुरक्षा नभए राजनीतिक स्थायित्व र विकास पनि नहुने तर्क गृहमन्त्रीको छ । उनले सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा जोड दिए ।

गृहसचिव प्रेमकुमार राईले प्रहरीले ल्याएको अवधारणा पूर्णरुपमा कार्यान्वयन हुने हो भने शान्ति र सुरक्षा व्यवस्थित हुने बताए । ‘यो कार्यक्रम लागू गर्न ढिला गर्नुहुन्न, मन्त्रालयले निर्णय गर्नुपर्छ भने गर्न तयार छ’, राईले भने ।

राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले १५औँं योजनामा उक्त अवधारणालाई समेत समावेश गरिने आश्वासन दिए । अर्का सदस्य डा कृष्णप्रसाद ओलीले वातावरण प्रदूषण र साइबर अपराध चुनौतीका रुपमा खडा भएको छ भन्दै स्रोतसाधन र संरचना निर्माण गरेर समन्वयात्मक ढङ्गले लाग्नुपर्ने बताए ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले प्रहरी सुधारको मार्गचित्रका रुपमा ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा आएको छ भन्दै पूर्ण अपनत्व लिएर काम गर्ने प्रतिबद्धता जनाए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्का, युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालले कार्यक्रममा आवश्यक सहयोग र समन्वय गरिने बताए । उनीहरुलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवधारणाबारे जानकारी दिएका थिए । रासस