बाँस्तोलाको शोकमा कांग्रेसले सोमबार पार्टी कार्यालय बन्द गर्ने, तीन दिन झन्डा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले नेता चक्र बाँस्तोलाको शोकमा सोमबार देशैभरका जिल्ला पार्टी कार्यालय बन्द गर्ने भएको छ । बाँस्तोलाको निधनमा शोक व्यक्त गर्दै एक दिन ७७ जिल्लाकै पार्टी कार्यालय बन्द गर्ने निर्णय गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसको आज (आइतबार) कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आकस्मिक रुपमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । साथै कांग्रेसले तीन दिनसम्म देशका सबै पार्टी कार्यालयमा पार्टीको झन्डा झुकाउने निर्णय गरेको छ ।

कात्तिक ७ गतेका लागि तय गरिएको कांग्रेसको चियापान कार्यक्रमसमेत बाँस्तोलाको निधनको शोकका कारण कात्तिक १६ आयोजना गर्ने गरी सारिएको छ ।

शनिबार राति आफ्नै निवास खुमलटारमा निधन भएका नेता बाँस्तोलाको शव दिउँसो १ः३० बजेदेखि कांग्रेस केन्द्रीय कार्यालयमा थियो ।

बाँस्तोलाको पार्थिव शरीरमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पोडेल, उप–सभापति निधि, महामन्त्री डा शशांक कोइरालालगायतका नेता, कार्यकर्ता तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले पनि श्रद्धान्जली अर्पण गरेका छन् । बाँस्तोलाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।