‘ओली सरकार दुई तिहाईको दम्भमा ताण्डब देखाईरहेको छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर लोकतान्त्रिक मुल्य र मान्यतामाथि नै प्रहार गरिरहेको गम्भिर आरोप लगाएका छन् । उनले भने, ‘सरकारले दुई तिहाई बहुमतको दम्भसमेत देखाएर जुन किसिमले लोकतान्त्रिक मुल्य र मान्यतामाथि प्रहार गर्नेमात्रै होईन, राज्यको चौथो अंगको रुपमा रहेको मिडियाको क्षेत्रलाई समेत आक्रमण गर्न थालेको छ ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले वर्तमान सरकार दुई तिहाई बहुमतको दम्भको आधारमा समाजमा ताण्डब नृत्य देखाईरहेको गम्भिर आरोप लगाए । उनले भने, ‘सरकार पूर्ण रुपमा असफल भएको छ भन्ने कुरा जसले यो सरकारलाई समर्थन गर्नुभएको छ, उहाँहरुले पनि यो कुरा भनिसक्नुभएको छ । देशमा अहिले शान्ति, सुरक्षाको अवस्था दयनीय छ । दशैंजस्तो चाडको बीचमा महँगी अत्यधिक बढेको छ । बलात्कारको घट्ना सबैभन्दा बढि यो अवधिमा भएको छ ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको क्रममा जनकपुर र मुक्तिनाथ जाँदा भारतीय मिडियालाई लाईभ रिपोर्टिङ गर्न दिईएको तर नेपाली मिडियाकर्मीहरुलाई प्रवेश निषेध गरिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘हाम्रा नेपाली मिडियाकर्मीहरु हेरेरमात्रै बस्नुपर्यो । सेना प्रवेश भएको छ । त्यतिमात्रै होईन, संयुक्त सैन्य अभ्याससमेतको कुरा उठ्यो । नेकपाभित्रकै हैसियत राख्ने नेताहरुले विरोध गर्नुभयो । हुन त नेपालले भाग लिएन् । तर, त्यहीभित्रको विरोधका कारण हुन सकेन् । कहाँ पुग्यो राष्ट्रवाद ? यही हो राष्ट्रवादको परिचय ?’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता दिनानाथ शर्माले सरकारलाई खबरदारी गर्ने प्रतिपक्षी दलको धर्म भएकोले राष्ट्रिय विकास निर्माणको काममा सँगसँगै मिलेर अघि बढ्नुपर्ने धारणा राखे । उनले भने,‘वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएको छैन्। सरकार गठन भएको भर्खरै ७ महिना भएको छ । हिजो विगतमा दुई तिहाईको दम्भ देखाएर विपीको सरकार पनि ढलेको होईन् । पार्टीभित्रकै अलोकतान्त्रिक गतिविधिका कारण विपीको सरकार ढलेको हो ।’
राष्ट्रिय जनता पार्टी नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले निर्णय गर्ने स्पष्ट पारिन् । उनले भनिन्, ‘छठपछि पार्टीको केही न केही निर्णय हुन्छ । पार्टीको निर्णयपछि हामी सरकारलाई समर्थन दिईराख्ने नै हो भन्ने छैन । समर्थन फिर्ता लिनपनि सकिन्छ । हाम्रा मागहरुपनि छन्, यदि ती पूरा भएनन् भने हामी छठपछि हामी निर्णय लिन्छौं ।’

संविधानलाई लिएर एउटै देशमा कतै दिपावली र कतै कालो दिवस मनाउँदा मुलुक समृद्ध हुन नसक्ने उनको ठोकुवा छ । उनले भनिन्, ‘संविधानमा अहिलेपनि हाम्रो असहमति छ । संविधान संशोधनको लागि मधेशमा विद्रोह भयो । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्छ । एउटै देशमा संविधान दिवसको दिनमा कतै दिपावली मनाउने र कतै कालो दिवस मनाईएको छ । यसले प्रधानमन्त्रीको समृद्ध नेपाल र सुखी नेपाली भन्ने उद्देश्य पनि पूरा हुँदैन् । मुलुकको विकासको लागि सबैलाई समेट्नुपर्छ ।’