तीन विद्यालयमा एलआरआईको सहयोग

धनगढी – काठमाडौंको कलंकीमा रहेको एलआरआईमा अध्ययनरत विद्यार्थीहरुले कैलालीका तीन विद्यालयमा पुस्तक सहयोग गरेका छन्। विद्यालयमा नाटक मञ्चन गरेर संकलन भएको रुपैयाँले पुस्तक खरिद गरी पुस्तक वितरण गरिएको हो ।

कैलालीको गौरीगंगा नगरपालिकाको महालक्ष्मी आधारभूत विद्यालय, चनौरा स्थित केदारेश्वर आधारभूत विद्यालय र गोदावरी नगरपालिकाको अत्तरिया स्थित सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पुस्तकालय स्थापनाका लागि पुस्तक वितरण गरिएको एलआरआईमा कक्षा ९ मा अध्ययनरत दीपाङ्सु जोशीले बताइन् । दसैँ अघि ‘टुटेको सपना’ शीर्षकमा नाटक मञ्चन गरेर सो रकम संकलन गरिएको थियो ।

एलआरआईका विद्यार्थीहरु स्वयम् कैलालीका तीनै विद्यालयमा पुगेर विद्यार्थीहरुलाई पुस्तक हस्तान्तरण गरेका हुन् ।

अत्तरियास्थित सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरुलाई पुस्तक वितरण गर्दै एलआरआईकी छात्रा आकृति कर्माचार्यले भनिन्,‘विद्यालयले गरेको सकारात्मक कार्यको सिको गर्दै हामीले नाटकबाट संकलित रकमले अपाङ्गता भएका विद्यार्थीहरु अध्ययनरत विद्यालयलाई पुस्तक सहयोग गर्न पाउँदा खुसी छौँ ।’ उनले आर्थिक अवस्था कमजोर भएका दुर्गमका विद्यालयलाई सामाजिक क्रियाकलाप अन्तर्गत हरेक वर्ष विभिन्न सहयोग गर्दै आइरहेको बताइन् ।

विद्यार्थीहरुले कैलालीको तीनवटा विद्यालयलाई एक लाख २५ हजार रुपैयाँ बराबरका विभिन्न पुस्तकहरु वितरण गरेको एलआरआईकी संस्थापक यशोधरा पन्तले बताइन् । उनले भनिन्,‘विद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभई उनीहरुलाई समाजिक क्षेत्रमा पनि अग्रसर गराउन यस्ता सिर्जनात्मक क्रियाकलाप गराउँदै आएका छौँ ।’ सामाजिक तथा सिर्जनात्मक क्रियाकलाप अन्तर्गत कैलालीका तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग पुगोस् भनेर विभिन्न कथा, कविता तथा ज्ञान विज्ञानका पुस्तकहरु हस्तान्तरण गरिएको उनले बताइन् ।