भारतमा रेलले किचेर तीन वर्षमा ५० हजारको मृत्यु

एजेन्सी । भारतमा सन् २०१५ देखि २०१७ को अन्तिमसम्मको तीन वर्षमा रेलले किचेर करिब ५० हजार नागरिकको ज्यान गएको छ । बाटो काट्ने क्रममा रेलले किचेर तीं मानिसहरुको ज्यान गएको बताइएको छ ।

भारतीय रेलवे सेवाले मङ्गलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो। भारतको पञ्जाबमा हालैमात्र रेलको लिकमा परेर ६१ जनाको ज्यान गएको थियो। सो दुर्घटनापछि भारतीय रेलवे सेवा कार्यालयले सो जानकारी गराएको हो।

हिन्दूहरुको चाड नवरात्रका अवसरमा लागेको मेला हेर्ने क्रममा अकस्मात रेल आएर किच्दा उनीहरुको मृत्यु भएको बताइएको थियो। यो तीन वर्षमा ४९ हजार ७९० जनाको ज्यान गएको उक्त कार्यालयले जानकारी गराएको हो । भारतीय रेलवे सेवा कार्यालयले दुर्घटना कम गर्न अनेकौँ कार्यक्रम सञ्चालन गरे पनि यसरी मृत्यु हुने क्रम नघटेको बताइएको छ।

विश्वभरमै भारत सबैभन्दा ठूलो रेल सञ्जाल भएको देश हो। भारतमा दैनिक करोडौं मानिस रेलमार्गबाट यात्रा गरिरहेका हुन्छन्।