काठमाडौं । चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा यातायात व्यवसायीले मनपरी भाडा असुलीरहेका छन् ।
पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्रान्ति, आठराई–फिदिमलगायत सडक खण्डमा गुड्ने गाडीका व्यवसायीले मनपरी भाडा लिइरहेका हुन्।
चाडबाडका बेला सहज आवतजावत हुने वातावरण बनाइनुपर्ने भए पनि यात्रुले सडक र सवारीसाधनमा धेरै सास्ती व्यहोर्न बाध्य भएका छन् ।
धरानबाट तेह्रथुमको म्याङलुङसम्म चल्ने साना जिप, बोलेरो, ट्याक्सीलगायत गाडी व्यवसायीले निर्धारितभन्दा दोब्बर बढीसम्म भाडा लिइरहेका छन् ।
व्यवसायीले आफूहरूलाई टिकटसमेत नदिएका यात्रुले बताएका छन् । धरान–तेह्रथुम खण्डमा यसअघि ५०० भाडा लिने गरिएकामा अहिले हजार रुपैयाँसम्म भाडा उठाइरहेका छन् ।
दशैं बित्न लाग्दा चल्न थालेका बसमा समेत म्याङलुङ–संक्रान्तिबजार (करिब ६५ किमि) सडक खण्डमा प्रतिव्यक्ति ६०० रुपैयाँ भाडा उठाइरहेको यात्रुले गुनासो गरेका छन् ।
आठराइ–फिदिम–इलाम–झापा सडक खण्डमा गुड्ने गाडीमा समेत जथाभावी भाडा असुलिरहेका छन् । यस्तै धरान–धनकुटा खण्डमा समेत निर्धारितदरभन्दा दोब्बर बढीसम्म भाडा लिइरहेका छन् ।
दुर्गम गाउँसम्म सडकको पुहँच त पुगेको छ तर, चाडपर्वका बेला मौका छोपेर व्यवसायीले यात्रुसँग ठगीधन्दा चलाइरहेका छन् ।
रिजर्भका नाममा तेब्बर बढीसम्म भाडा लिएर यात्रुलाई ठग्ने काम भएको छ । सवारीसाधनको कमी भएको भन्दै व्यवसायीले यात्रुबाट मनपरी भाडा असुलिरहेका छन् ।