तेस्रो मुलुक लैजान लागिएका ३७ नेपाली महिलाको भारतबाट उद्दार

काठमाडौं । मानव तस्करको प्रलोभनमा परी घरेलु कामदारको रुपमा तेस्रो मुलुक लैजान लागिएका ३७ नेपाली महिलाको भारतका बिभिन्न स्थानबाट उद्दार गरिएको छ । टाइम्स अफ इण्डियाका अनुसार पछिल्लो २४ घण्टामा ३७ नेपाली महिलाहरुको उद्दार गरिएको हो ।

सोमबार साँझ २८ जना महिलालाई नयखण्ड भन्ने स्थानको श्रीजन बिहार सोसाइटीको दुईवटा फ्ल्याटबाट उद्धार गरिएको बताइएको छ । यस्तै मंगलबार बिहान ज्ञान खण्ड भन्ने स्थानमा रहेको अर्को फ्ल्याटबाट ९ जना नेपाली महिलालाई उद्धार गरिएको हो । दुई जना पुरुषलाई पनि भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

छापा मार्ने क्रममा बिभिन्न खाडी मुलुकमा पर्यटक भिसा लागेका नेपाल सरकारबाट जारी गरिएका १७ थान पासपोर्ट समेत बरामद भएका छन् ।

टाइम्स अफ इण्डिया प्रकाशित समाचारका अनुसार मानव तस्करीको यो सञ्जालमा तीन संलग्न रहेको पाइएको छ । समाचारका अनुसार दुबईमा बस्ने अनिल नेपाली, नेपालमा रहेका गणेश तथा दिल्ली र गाजिवाद क्षेत्रमा बस्दै आएका केदारनाथ रहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।