ऋषि कट्टेल नेकपाविरुद्ध सर्वोच्च जाने

काठमाडौं । ऋषि कट्टेल नेतृत्व नेकपाले आफूहरुको पार्टीको नाम दिएर पहिचान मेट्न खोजेको भन्दै सत्तारुढ दल विरुद्ध सर्वोच्च अदालत जाने चेतावनी दिएको छ ।

बुधबार निर्वाचन आयोगमा आयोजित छलफलमा बोल्दै कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगले आफ्नो निर्णय नसच्याई सत्तारुढ नेकपाको नाम अहिलेकै कायम राख्ने त्यस विरुद्ध सर्वोच्च जाने चेतावनी दिएको हो ।

कट्टेलको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पहिलेदेखिनै दर्ता थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि बनेको नयाँ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राख्न निर्वाचन आयोगले अनुमति दिएपछि कट्टेल नेतृत्वको नेकपा रुष्ट बन्दै आएको छ । उसले आफ्नो पार्टीसँग मिल्दो नाम भएको भन्दै निर्वाचन आयोगमा निवेदन समेत दिएको थियो ।

आयोगले उक्त निवेदनमाथि छलफलका लागि दुबै नेकपाका प्रतिनिधिलाई बोलाएको थियो ।