पुलिसलाई पराजित गर्दै मुम्बईमा डीसीएको पहिलो जित

मुम्बई । खेलमा सुधार गरेपछि धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले मुम्बईमा पहिलो जित हात पारेको छ । आफ्नो तेस्रो मैत्रीपूर्ण खेलमा डीसीएले बिहीबार मुम्बई पुलिसको १७ वर्षमुनीको टिमलाई १० रनले पराजित गरी रोचक जित दर्ता गरेको हो ।

मुम्बई पुलिस जिमखाना खेल मैदानमा टस जितेर पहिले ब्याटिङ्ग गरेको डीसीएले निर्धारित ४० ओभरको खेलमा आठ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो ।

आफ्नो टिमलाई जिताउन डीसीएका रोहन विकले २७ बलमा ४२ रन बनाए । उनको ब्याटबाट चार चौका प्रहार भएको थियो । त्यस्तै, सोनु मण्डलले ३३ रन बनाए । उनले पनि चार चौका प्रहार गरेर योगदान गरेका थिए ।

कप्तान सुवोध ऐरले चार चौकाको मदतले २७, राजन लोहनीले दुई बलमा ६ र सन्दिप आउजीले ५ रनको योगदान दिए ।

बलिङ्ग गर्दै मुम्बई पुलिसका जेनिथ सर्हदेव, कुश जैन र धनित रावतले समान दुई÷दुई विकेट लिए पनि डीसीएलाई लयमा फर्किनबाट रोक्न सकेनन् ।

एक सय ६६ रनको लक्ष्य पछ्याउन जवाफी मैदानमा उत्रेको मुम्बई पुलिस टिम ३४ ओभरमा अलआउट हुँदै एक सय ५५ रनमा समेटियो । मुम्बईका आर्यनले ५१ रन बनाए पनि आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन् । त्यस्तै, ऋषिभेष मोरेले २६, अभिषेक यादवले १२ रन बनाए ।

मुम्बईलाई लक्ष्यमा पुग्नबाट रोक्ने क्रममा डीसीएका विनोद विष्टले सर्वाधिक चार विकेट लिए । आठ ओभर बलिङ्ग गरेका उनले ४३ रन खर्चेका थिए । कुश मण्डलले तीन, सोनु मण्डल, निशान पन्त र राजन लोहनीले समान एक/एक विकेट लिदैं आफ्नो टिमलाई पहिलो जित दिलाउन सफल भए ।

१० दिनसम्मको लागि मुम्बई भ्रमणमा आएको १७ वर्षमुनीको डीसीए टोलीले यसअघि दुई खेलमा पराजय भोगेको थियो । डीसीएले अझै चार वटा एक दिवसीय मैत्रीपूर्ण खेल खेल्न बाँकी रहेको छ ।

अरु खेलको तुलनामा बिहीबारको खेलमा सुधारिएको प्रदर्शन गरेपछि टोलीले पहिलो जित दर्ता गरेको डीसीएका प्रशिक्षक दीपेन्द्र चौधरीले बताए ।