सत्तारुढ नेकपालाई निर्वाचन आयोगले दियो वैधानिकता

काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई वैधानिकता दिएको छ । तत्कालिन एमाले र माओवादीको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले असन्तुष्टि जनाउँदै निर्वाचन आयोगमा उजुरी गरेको थियो ।

उक्त विवादलाई टुंगो लगाउँदै आयोगले आज सत्तारुढ नेकपालाई बैधानिकता दिने निर्णय गरेको हो ।

आयोगले सत्तरुढ पार्टीलाई कोष्टक भित्र नेकपा राख्ने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम दिँदा आपत्ति जनाउनु पर्ने कारण नरहेको बताउँदै कट्टेलको उजुरी खारेज गरेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का पहिचान अगल अलग नै देखिने हुँदा निवेदक कट्टेलको निवेदन खारेज गरिएको आयोगले बताएको छ ।