कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं । गृहमन्त्रीको भूमिका प्रभावकारी नभएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ । कांग्रेस नेता रमेश लेखकले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।

लेखकले तीन महिना बित्दा पनि निर्मला पन्तका हत्यारालाई कारबाहीको दायरामा ल्याउन नसक्नु गम्भिर लापरबाही भएको बताए । उनले नैनिक रुपमै गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

सरकारले प्रहरी अधिकृत बर्खास्त गरेर हत्यारालाई संरक्षण दिन खोजिरहेको समेत लेखकले आरोप लगाएका छन् । उनले यो वा त्यो बहानामा पन्छिन खोज्नु सरकारको गम्भिर त्रुटि भएको बताउँदै चाडो भन्दा चाडो दोषिलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।