निर्मलाका हत्यारालाई कारबाही नगरे चुप लागेर बस्दैनौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सरकार बचाउन तर्फ लागेको आरोप लगाएका छन् ।

नेपाल तरुण दलको ६५ औं स्थापना दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले सरकार अपराधिलाई बचाउन तर्फ लागेकाले अब आफुहरु चुप लागेर नबस्ने चेतावनी दिएका हुन् ।

घटना घटेको तीन महिना हुँदा पनि सरकारले दोषीलाई कारवाहिको दायरामा ल्याउन नसक्नु लज्जाको विषय भएको उनको भनाई छ ।

सरकारले अहिलेसम्म कसैलाई कारबाही नगरेकाले अपराधिलाई बचाउन उद्दत भएको प्रस्ट भएको देउवाको भनाई छ । ‘यतिका दिनसम्म किन हत्यारा पत्ता लागेन ? किन कारबाही गरिएन ? देउवाले सरकारलाई प्रश्न गरे ।’

हत्यारा, बलत्कारी अपराधिनै हुने र उ कुनै पनि पार्टीको नहुने बताउँदै देउवाले अपराधमा संलग्न जो सुकै भएपनि कारबाही गरिनु पर्ने बताए ।

फरक प्रसंगमा बोल्दै सभापति देउवाले भातृ संस्था तरुण दललाई देशव्यापी संगठन विस्तार गर्न आग्रह गरे ।

दलका अध्यक्ष जीतजङ्ग बस्नेतले लोकतान्त्रिक मूल्यमान्यता, सुशासन, स्थिरता र विकासका लागि सङ्गठन लागिपर्ने बताए । २००७ सालमा प्रजातन्त्रको स्थापनापछि सुदृढीकरणका लागि युवा समूह सङ्गठित गर्ने क्रममा वि.सं. २०१० कात्तिक १० गते तरुण दलको स्थापना भएको हो ।

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले दल स्थापना गरेका थिए । तत्कालीन प्रधानमन्त्री कोइराला वि.सं. २०१७ पुस १ गते तरुण दलकै कार्यक्रममा व्यस्त रहेका बखत तत्कालीन राजा महेन्द्रबाट सेनाको शक्तिका भरमा ‘कू’ गरी कोइरालालाई पक्राउ गरी पञ्चायती शासन व्यवस्थाको सूत्रपात भएको थियो ।