गायक आनन्द कार्कीको नयाँ एल्बम बजारमा

काठमाडौं । नेपालका स्थापित गजल गायक आनन्द कार्की नयाँ एल्बम लिएर दर्शक÷स्रोतामाझ आएका छन् । ‘नबिर्स’ एल्बम बिमोचन गरेर उनले आफ्ना फ्यानहरूलाई खुसी थपेका हुन् । यूके निवासी गीतकार घन बहादुर थापाको चौथो एल्बमका रुपमा आएको नबिर्स काठमाडौंमा विमोचन गरिएको हो ।

लामो समयदेखि युकेमा बस्दै आएका गीतकार थापा विदेशमा बसेर पनि नेपाली माटो, साहित्य, गीतसंगीतलाई माया गर्ने सर्जक हुन् । थापा साहित्य विधामा पनि कलम उत्तिकै सक्रिय छन् ।

गायक आनन्द कार्कीसँगै एल्बममा चर्चित गायिका अन्जु पन्त, सबिना कार्की तथा निखिता थापाको पनि स्वर सुन्न पाइन्छ । एल्बममा सातवटा गीत समावेश छन् । शक्ति बल्लभ, शिखर सन्तोष, दिपक शर्मा, अर्जुन पोखरेल, राजन राज सिवाकोटी तथा तारा प्रकाश लिम्बुजस्ता चर्चित संगीतकारले गीतमा संगीत भरेका छन् ।