मन्त्रिपरिषद् बैठक बालुवाटारमै, गोरखापत्र संस्थानका महाप्रबन्धक उपाध्याय पदमुक्त

काठमाडौं । विधि र प्रक्रिया पुर्याएर अघिल्लो सरकारको पालामा नियुक्त गरिएका गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई आज बसेको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उपाध्यायलाई हटाउनेलगायतका विविध निर्णय गरेको हो ।

मन्त्रिपरिषदले मलेसियासँग रोजगार सम्झौता गर्ने अख्तियारी श्रममन्त्री गोकर्ण विष्टलाई दिने निर्णय पनि गरेको छ ।
बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण स्वीकृत गरेको छ ।

भ्रमण अवसरमा कृषि तथा पशु पंक्षी विकास, स्वास्थ्य, सुरक्षा सहयोग, प्रेस तथा सूचना, कुटनीतिक राहदानी बाहकहरूलार्इ दुवै देशले छुट दिने समझदारी पत्रमा हस्ताक्षर हुने सञ्चार मन्त्री गोकुल बाँसकोटाले जानकारी दिए । राष्ट्रपति भण्डारी, गृहमन्त्री रामबहादुर थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहितको प्रतिनिधिमण्डल सोमबार कतारको औपचारिक भ्रमणमा जाँदैछ ।

मन्त्रिपरिषद बैठकले सरकारी निकायमा विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय समेत गरेको छ।