तीन स्वास्थ्य संस्थालाई डेढ लाखको स्वास्थ्य सामग्री

धनगढी । धनगढीका तीनवटा स्वास्थ्य संस्थालाई करिब डेढ लाखको स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी केन्द्रीय अध्यक्ष तथा काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवाको पहलमा धनगढीका तीनवटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो ।

धनगढी उप–महानगरपालिका अन्तर्गतका फुलवारी स्वास्थ्य चौकी , उर्मा स्वास्थ्य चौकी र बेली शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो । तीं सामग्री सुरक्षित मातृत्व सञ्जाल महासंघ जिल्ला शाखा कैलालीका अध्यक्ष विनय लामाले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरेका हुन ।

केन्द्रीय अध्यक्ष डाक्टर देउवाले उक्त स्वास्थ्य सामाग्री आम सुरक्षा कार्यक्रम अन्तरगत निःशुल्क प्रसुती सेवामा काम गर्ने स्वास्थ्यकर्मीले प्रयोग गर्ने गरि उपलब्ध गराएको बताइएको छ । यसअघि देउवाकै पहलमा सेती प्रादेशीक अस्पताललाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

धनगढी उप–महानगरपालिका भित्रका बिपन्न सुत्केरी तथा गर्भवती महिलालाई पोषण तथा खाद्यान्न समेत देउवाको पहलमा वितरण गरिएको थियो ।