संक्रमणकै बीच भारतले सुरु गर्यो हवाई उडान सेवा

काठमाडौं । भारतमा सोमबार विहानसम्म एक लाख ३८ हजार ८ सय ४५ जनामा कोरोना संक्रमण फैलिएको छ । यीमध्ये ४ हजार २१ जनाले ज्यान गुमाई सकेका छन ।

संक्रमण फैलन नदिन भारत करिब दुई भन्दा बढी समयदेखि लकडाउन छ । सोही समयदेखि अन्तर्राष्ट्रिय र घरेलु उडान सेवा बन्द छ । भारतमा अहिले पनि औषत करिब ५ हजारमा कोरोना संक्रमण फैलिने क्रम जारी रहे पनि दुई महिनापछि भारतले दुई राज्य बाहेक देशभर हवाई उडान सेवा सुरु गरेको छ ।

आन्ध्र प्रदेश र पश्चिम बंगालबाहेक देशभर भारतले घरेलु उडान सेवा सोमबारदेखि सुरु गरेको हो । नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले ट्वीटमार्फत दुई राज्यबाहेकका राज्यहरुमा २५ मे देखि यात्री विमान सेवा सञ्चालन हुने छ । आन्ध्र प्रदेशमा २६ मे र पश्चिम बंगालमा २८ मेबाट विमान सेवा सुरु हुने पनि उनले जनाएका छन ।

हवाई यात्रालाई लिएर भारतको स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका पनि जारी गरेको छ । यात्री र सेवा प्रदायक विमान कम्पनीले नयाँ निर्देशिका पालन गर्नुपर्ने छ । यो बाहेक यात्रुले मास्क लगाउन अनिवार्य गरिएको छ । सबै प्रवेश र निकास द्वारमा थर्मल स्कयानिंग अनिवार्य गरिएको छ । यात्रुहरुको फोनमा आरोग्य सेतु एम अनिवार्य इन्स्टल भएको हुनुपर्ने छ ।

यो बाहेक हरेक राज्यले यसरी यात्रा गरेर आफ्नो राज्यमा आउने यात्रुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएका छन । एक राज्यबाट अर्को राज्यमा हवाई यात्रामार्फत प्रवेश गरे पनि त्यस्ता यात्रुले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने अधिकांश राज्यले नियम बनाएका छन ।

केन्द्र सरकारले एकतिहाई उडान संचालनको अनुमति दिएको छ । दिल्ली हवाई अड्डाबाट हरेक दिन १९० उडान सञ्चालन हुनेछन । त्यही संख्यामा राज्यहरुबाट यहाँ अवतरण गर्नेछन । हवाई अड्डामा हरेक दिन २० हजार यात्रुले ओहोरदोहोर गर्ने अनुमान गरिएको छ ।