Logo
१५ वैशाख २०८१, शनिबार

नेपाल साफ च्याम्पियनशिप : १२ वर्षमा पहिलोपटक भारत पराजित

अक्षरपाटी
२०७९ भदौ ३१ , शुक्रबार १०:०९ मा प्रकाशित

काठमाडौं। साफ च्याम्पियनशिप फुटबलको बाह्र वर्षे इतिहासमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलो पटक भारतलाई पराजित गरेको छ।

सन् २०१० मा बंगलादेशबाट सुरु भएको महिला साफ च्याम्पियनशिपमा नेपालले यसअघि भारतलाई हराउन सकेको थिएन।

आजको जीतसँगै नेपाल साफ च्याम्पियनशिपको पाँचौँपटक फाइनलमा पुग्यो। नेपालले भारतलाई १–० गोलअन्तरले पराजित गर्दै नयाँ इतिहास रच्न सफल भयो। नेपालको जीतमा निर्णायक गोल रश्मिकुमारी घिसिङले गरिन्। उनले खेलको पहिलो हाफको इन्जुरी समयमा प्रिति राईको पासमा नेपालका लागि निर्णायक गोल गरिन्।

खेलको ३३औँ मिनेटमा प्रिति राईले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको सुन्दर प्रहार पोष्टभन्दा माथिबाट बाहिरिएको थियो। पहिलो हाफमा अग्रता लिएसँगै नेपालले खेलको दोस्रो हाफको सुरुआतदेखि नै भारतलाई दबाबमा राखेको थियो। खेलको ६४औँ मिनेमा प्रिति राईले डी बक्सभित्रबाट गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरिएका थियो।

त्यस्तै खेलको ७६औँ मिनेटमा भारतकी खेलाडी सौम्याको प्रहारलाई नेपालकी गोलरक्षक एन्जिलाले उत्कृष्ट बचाउ गरिन्। खेलको ८३औँ मिनेटमा सौम्याको क्रसमा करिब ६ यार्डबाट बल क्लियर नहुँदा भारतले गोल फर्काउने सुन्दर अवसर पाए पनि सफल भएन।

साफ च्याम्पियनशिपमा नेपालले यसअघि चार पटक फाइनल र एक पटक सेमिफाइनलसम्मको यात्रा तय गर्दा भारतविरुद्ध जीत निकाल्न सकेको थिएन।

घरेलु मैदान विराटनगरमा आयोजित पाँचौँ संस्करणको साफ च्याम्पियनशिपमा घरेलु समर्थकको साथ हुँदाहुँदै पनि नेपालले फाइदा लिन सकेको थिएन।

तर यसपटक नेपालले करिब सात हजार दुई सय घरेलु समर्थकको पूरै लाभ उठायो। पाँच पटकको साफ च्याम्पियनशिपको विजेता भारत पहिलो पटक सेमिफाइनबाट बाहिरियो।

साफ च्याम्पियनशिपमा जहिले पनि नेपाल भारतसँगै पराजित हुँदै आएको थियो। साफको सुरुआती चरणको फाइनल खेलमा पनि नेपाल भारतसँग १–० गोलअन्तरले पराजित हुँदै दोस्रो बनेको थियो।

सन् २०१२ मा भएको दोस्रो संस्करणको फाइनल खेलमा पनि नेपाल भारतसँगै ३–१ गोलअन्तरले पराजित भएको थियो। यसैगरी सन् २०१४ मा भएको तेस्रो संस्करणको फाइनल खेलमा पनि नेपाल भारतसँग ६–० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो।

सन् २०१६ मा भएको चौथो संस्करणको खेलमा भने नेपाल सेमिफाइनलबाटै बाहिरियो। त्यतिबेला नेपाल सेमिफाइनल खेलमा भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

सन् २०१९ मा भएको पाँचौँ संस्करणमा पनि नेपालले फाइनल खेलमा ३–० गोलअन्तरले भारतसँग पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझाएको थियो।

साफ महिला च्याम्पियशिपको इतिहासमा अब नेपालले पहिलो पटक बङ्गलादेशलाई प्रतिद्वन्द्वी पाएको छ। घरेलु समर्थकका माझ नेपाल र बङ्गलादेशबीचको फाइनल खेल सोमबार हुनेछ। आजै भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भूटानलाई ८–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

यसअघिका पाँचै संस्करणको उपाधि भारतले जितेको थियो। छटौँ संस्करणमा नयाँ राष्ट्र च्याम्पियन हुने निश्चित भएको छ।

समूह चरणको खेलमा नेपालले भूटानलाई ४–० गोलअन्तरले पराजित गरेको थियो भने श्रीलंकालाई ६–० गोलअन्तरले हराएको थियो। खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले बाह्र वर्षपछि इतिहास रच्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।

उनले सबै खेलाडीको मेहनत र आम फुटबलपे्रमीको समर्थनमा नेपालले जीत दर्ज गरेको बताए। भारतविरुद्धको खेलमा वर्षा बाधक नबन्दा जीत हात पार्न सहज भएको उनको प्रतिक्रिया थियो।

मुख्य प्रशिक्षक थापाले नेपाली टोलीले पाएको अवसरलाई गुमाउन नदिएको उल्लेख गर्दै बङ्गलादेशविरुद्धको फाइनलमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। राष्ट्रिय फुटबल टोलीकी सदस्य प्रिति राईले घरेलु दर्शकले खेल जिताउन सहयोग पु¥याएको र आगामी खेलमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए।

नेपाली राष्ट्रिय महिला टोली भारत पराजित