Logo
२० मंसीर २०७९, मंगलबार

धवलागिरि पदमार्गः सम्भावना अथाह

अक्षरपाटी
२०७९ कात्तिक ११ , शुक्रबार १०:१० मा प्रकाशित

धवलागिरि। पथप्रदर्शक छिरी राई सात वर्षपछि धवलागिरि चक्रीय पदमार्गमा पर्यटकलाई लिएर आफैँ पुगे। काठमाडौँमा आसाकी ट्रेक्स एण्ड एक्सपिडीसनका सञ्चालकसमेत रहेका राईले दर्जनौँपटक धवलागिरि चक्रीय पदमार्गमा पर्यटक लिएर आए।

पछिल्लोपटक भने सात वर्षपछि मात्रै असोज अन्तिम सातादेखि कात्तिक पहिलो सातासम्म धवलागिरि आधार शिविर पुग्ने पदमार्गमा पर्यटकलाई लिएर भ्रमण गराए।

धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (आठ हजार एक सय ६७ मिटर) अग्लो धवलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङको लेते निस्कने चक्रिय धवलागिरि पदमार्ग साहसिक पदयात्राका लागि प्रख्यात मानिन्छ।

धवलागिरि आधार शिविर क्षेत्रको भ्रमण र धवलागिरि आरोहणका लागि समेत पर्यटक यस पदमार्ग हुँदै ओहोरदोहोर गर्छन्। धवलागिरि पदमार्ग प्राकृतिकरूपमा मनोरम रहे पनि पर्यटन विकासको अवस्थामा भने सुधार र परिवर्तन नभएको पाइएको राईले बताए।

“धेरै हिमालमा पर्यटक लिएर पुगेको छु, धवलागिरि पदमार्गको जस्तो सुन्दरता कमै भेटिन्छ, तर यहाँको पर्यटन पूर्वाधारको विकास भने अन्य क्षेत्रको तुलनामा निकै कम छ”, राईले भने।

हङ्कङमा रहेका म्याग्देलीहरूको सामूहिक धवलागिरि पदमार्ग भ्रमणको नेतृत्व गरेका राईले विदेशी पर्यटकले साहसिक यात्राका रूपमा लिने यस क्षेत्रमा पदमार्ग, सञ्चार, होटललगायतका पूर्वाधार र सुविधाको पहुँच बढाउन सकेमा आन्तरिक पर्यटकसमेत ठूलो सङ्ख्यामा भित्र्याउन सकिने बताए।

कसरी पुग्ने

म्याग्दी सदरमुकाम बेनीबाट मुदीगाउँसम्म सडकको ट्र्याक निर्माण भएकाले त्यहाँसम्म सवारीसाधनमा पुगेपछि एक दिनको यात्रामा बगरगाउँ पुग्न सकिन्छ।

बगरबाट–दोभान, दोभानबाट सल्लाघारी–इटाली आधार शिविर हुँदै धवलागिरि आधार शिविर पुग्न करिब चार दिनको पैदलयात्रा गर्नुपर्छ।

पछिल्ला वर्षहरूमा पदमार्गका लागि गाउँपालिका, पर्यटन मन्त्रालय र प्रदेश सरकारमार्फत समेत बजेट विनियोजन हुन थाले पनि पर्याप्त नहुँदा पदमार्ग निर्माणले तीव्रता पाएको छैन।

सुन्दरता

अग्ला डाँडाकाँडा, पहाड, घना जङ्गल, झरना, खोलानाला र हिमालको मनोरम दृश्य लोभलाग्दो रहे पनि पर्यटन विकासका आधारभूत पूर्वाधार नहुँदा यात्रा कष्टकर र जोखिमपूर्ण हुने गरेको पहिलोपटक आधार शिविर पुगेका कर्णबहादुर पुनले बताए।

धवलागिरि पदमार्गले समेटिएका बस्तीमा पर्यटन संस्कृतिको समेत अभाव रहेको उल्लेख गर्दै पुनले स्थानीयवासीमा पर्यटन संस्कारको विकास गर्ने, पर्यटन पूर्वाधार निर्माण गर्ने र पदमार्गलाई व्यापक प्रचार–प्रसार गर्ने कार्यमा स्थानीय सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

यस पदमार्गअन्तर्गत बगरगाउँमा घरबास रहे पनि त्यो प्रभावकारी र व्यवस्थित बन्न सकेको छैन भने दोभान, सल्लाघारी र इटाली बेसक्याम्पमा रहेका होटलको क्षमता पर्याप्त छैनन्।

खानामा अर्ग्यानिक र आतिथ्यतामा मौलिकतालाई जोड्दै स्थानीय कला र संस्कृतिलाई समेत यस क्षेत्रको पर्यटन विकासको अर्को आधार बनाउनुपर्ने अर्का पर्यटक इन्द्र एलजी थापामगरले बताए।

यस पदमार्गको अधिकांश क्षेत्रमा सञ्चारको पहुँच नपुगेको कारण पर्यटक सञ्चार सम्पर्कको अभावले स्वास्थ्य समस्या र आपत्कालीन समयमा तत्काल उद्धार पाउनबाट बञ्चित हुनुपर्ने बाध्यता छ भने इटाली आधार शिविरदेखि माथिको पदमार्ग स्थायी नहुँदा हरेक वर्ष बाटो फेरिररहने समस्या छ।

इटाली आधार शिविरबाट अघि बढेपछि म्याग्दी नदीको खोँचमा झोलुङ्गे पुलको अभाव छ। पुल नहुँदा हिउँ जमेर बनेको ग्लेसियरमाथि नै जोखिमपूर्ण तवरले आवतजावत गर्नुपर्ने बाध्यता छ।

समुद्र सतहदेखि चार हजार सात सय ६० मिटर उचाइको आधार शिविर हुँदै मुस्ताङको लेते निस्कने चक्रिय धवलागिरि पदमार्ग साहसिक पदयात्राका लागि प्रख्यात रहे पनि पर्यटन पूर्वाधार तयार भएमा समुद्र सतहदेखि तीन हजार छ सय ६० मिटर उचाइको इटाली आधार शिविरसम्मको पदयात्रामा आन्तरिक पर्यटकको आगमन बढाउन सकिने सम्भावना रहेको स्थानीय होटल व्यवसायी हरिप्रसाद तिलिजा बताए।

धवलागिरि पदमार्ग