Logo
२३ मंसीर २०७९, शुक्रबार

पोखरामा यसरी हुँदैछ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन

अक्षरपाटी
२०७९ असोज २७ , बिहीबार ०३:१० मा प्रकाशित

कास्की। ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ को शान्ति र राष्ट्रिय भावसहित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा भोलिदेखि औपचारिक रुपमा सुरु हुँदैछ।

राष्ट्रिय खेलकुदको अपनत्व प्रदेशवासीलाई गराउन यसपटक नवौँ संस्करणमा गण्डकीका आठ जिल्लामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म एक साता प्रतियोगिताअन्तर्गतका खेल आयोजना गरिएसँगै प्रदेशभर खेलकुदको माहोल तातेको छ।

हिमाली जिल्ला मनाङ, मुस्ताङ र लमजुङबाहेकका जिल्लाले खेल आयोजनाको अवसर पाएका छन्। कोेभिड–१९ महामारीको प्रभावले हरेक दुई–दुई वर्षमा हुनुपर्ने प्रतियोगिता तोकिएको समयभन्दा डेढ वर्ष ढिला गरी आयोजना भएको हो।

विसं २०७७ फागुन अन्तिम साताका लागि तय भएको नवौँ कोरोनाकै कारण पटक–पटक स्थगन हुँदै आएको थियो।

प्रतियोगिताको अन्तिम तयारीले मुख्य आयोजनास्थल पर्यटकीय सहर पोखरा खेलकुदमय बनेको हो। खेलाडी, खेलकुदकर्मीसहित विभिन्न पेशा व्यवसायीहरू उत्साहित बनेका छन्।

विसं २०७६ मङ्सिरमा १३औँ दक्षिण एसियाली खेलकुदपछि पर्यटकीय सहर पोखराले पहिलोपटक घरेलु खेलकुदको सर्वोच्च प्रतियोगिताको आतिथ्यता प्रदान गर्दैछ। यसअघि विसं २०४० मा पोखरामा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद भएको थियो।

प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ। कतिपय खेलका पूर्वाधार निर्माण र स्तरोन्नतिमा ढिलाइ भए पनि समग्रमा राष्ट्रिय खेलकुदलाई भव्य बनाउने गरी तयारीका काम भएका छन्।

खेलस्थल, प्रतियोगिता सञ्चालन, समारोह सुरक्षा, खेल सामग्री सबै हिसाबले प्रतियोगिताको तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बताए।

उद्घाटनमा सात प्रदेशको संस्कृति झाँकी

राष्ट्रिय खेलकुदको भव्य उद्घाटनका लागि पोखरा रङ्गशालामा दुई सातादेखि तयारी भइरहेको छ। रङ्गशालाभित्र र बाहिरसमेत नेपाली सेना, विद्यालयका विद्यार्थी तथा विभिन्न सांस्कृतिक समूहहरूको तयारी छ।

शुक्रबार साँझ ४ः०० बजे प्रतियोगिता विधिवत उद्घाटन गर्ने कार्यक्रम छ। पोखरा रङ्गशाला उद्घाटन समारोहका लागि सिङ्गारिएको छ। ठाउँ–ठाउँमा स्वागतबोर्ड, ब्यानर र बत्तीले साँझमा झिलीमिली छ।

उद्घाटनमा देशका सात प्रदेशको संस्कार र संस्कृति गीत, सङ्गीत, नृत्य र झाँकीको माध्यमबाट समारोहमा झल्किनेछ। नेपाली सांस्कृतिक विविधतालाई राष्ट्रिय खेलकुदको उद्घाटनले प्रतिनिधित्व गर्नेछ। नेपालको भूगोल र ठाउँ विशेषअनुसारको मौलिक संस्कृति प्रस्तुत गर्ने गरी नृत्य र झाँकी प्रदर्शन हुने समारोह उपसमितिले जनाएको छ। उद्घाटन समारोह दुई घण्टाको हुनेछ।

प्रदेश नं १ को राई÷लिम्बूको चर्चित साकेला नृत्य, मधेसको सतार र धिमाल जातिको मौलिक नृत्य, बागमतीको नेवारी संस्कृति, गण्डकीको कौडा, घाँटु र लोकगीत, लुम्बिनीको थारू संस्कृति, कर्णालीको मगर समुदायको झ्याउरे र सुदूरपश्चिमको हुडकेली प्रस्तुत हुनेछ।

राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य एवं समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले उद्घाटन समारोहलाई भव्य बनाएर राम्रो सन्देश देशभर दिने गरी उद्घाटन समारोहको तयारी गरिएको बताए।

पोखरा रङ्गशालाको अत्याधुनिक फुटबल स्टेडियममा नेपाली सेनाको मार्चपासबाट उद्घाटन समारोह सुरुआत हुनेछ। सेनाका तीन सय जनाले मार्चपास गर्नेछन् । मार्चपासपछि सलामी अर्पणको कार्यक्रम हुनेछ।

त्यसपछि सेनाको एक टुकडीले नाच प्रस्तुत गर्नेछ। नेपाली सेनाका १८ जना महिलाको टोलीले सात प्रदेश, विभाग र खेल सङ्घको झण्डा बोकेर रङ्गशालामा मार्चपास गर्नेछन्।

समारोहलाई भव्य र उल्लासमय बनाउन उद्घाटन समारोहको अन्तिममा आतसवाजीको तयारी गरिएको छ । भारतको लखनउबाट आएको आतबाजीको समूहले केहीदिनदेखी नेपाली सेनाको ब्यारेकमा बसेर तयारी गरिरहेको छ।

सातवटा प्रदेशलाई समेट्ने गरी पूर्वदेखि पश्चिमसम्मको संस्कृति देखाउने नृत्य र झाँकीले राष्ट्रिय भाव दर्शाउने समारोहको झाँकी तथा नृत्य उपसमितिका संयोजक नन्दा बस्यालले बताए।

तयार छन् खेलस्थल

राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अगावै केही खेल सुरु भइसकेको छन्। महिला क्रिकेट, फेन्सिङ, ह्याण्डबल लगायतका केही खेल असोज २३ देखिनै सुरु भएका छन्। अधिकाँस खेलहरु शुक्रबारदेखि सुरु हुँदैछन्।

विशेषगरी पूर्वाधार अभाव र समयलाई मध्यनजर गरी कतिपय खेल अघि सारिएको राष्ट्रिय खेलकुद परिषद् मातहतको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ।

राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी खेल हुनेछन्। पुरुष क्रिकेट राजधानी काठमाडौँमा सम्पन्न भइसकेको छ। सुटिङ पनि काठमाडौँमै हुनेछ। बाँकी खेलहरु अधिकाँस पोखरा रङ्गशालामा हुनेछन। पोखरामा २७ खेलहरु हुनेछन्।

पुरुष बास्केटबल पोखरा र महिला बास्केटबल तनहुँमा हुँदैछ। बाँकी खेलहरु गोरखा, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा र नवलपुर गरी ६ जिल्लामा हुँदैछ।

प्रतियोगिताका लागि सबै खेलस्थलहरु तयारी अवस्थामा रहेको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताए। केही खेलका सामान्य मर्मत र सरसफाईका काम बाँकी रहेको गुनासो आएको छ।

खेल सञ्चालन अघि खेलस्थलमा सबै काम सकिने गुरुङले बताए। राखेपले खेलस्थलको पूर्वाधार स्तरोन्नतिका लागि एक करोड बजेट छुट्टाएकामा पूर्वाधार स्तरोन्नतिको कामका लागि दुई करोड खर्च लाग्ने अनुमान गरिएको बताइन्छ।

स्थानीय सरकारको साथ

राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी संघीय सरकारको हो। स्थानीय आयोजकका रुपमा गण्डकी प्रदेश सरकारले काम गरेको छ।

प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले पनि प्रतियोगिता भव्य बनाउन प्रचारप्रसारमा साथ दिएको छ। यसैगरी महानगरले प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई पुरस्कार घोषणा गरेर प्रोत्साहन गरेको हो।

महानगरपालिकाले खेलका लागि पोखरा आउने खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई यातायात, होटल, सपिङ मल लगायतमा छुट तथा सहुलियतका लागि समेत सम्बन्धित पक्षसँग आग्रह गरिएको जनाएको छ।

राष्ट्रिय खेलकुदको चार दशक

नेपालमा विसं २०३८ देखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो। राष्ट्रिय खेलकुद आयोजनाले चार दशक पार गरिसकेको छ । हेरक दुई÷दुई वर्षमा राष्ट्रिय खेलकुद हुने भएपनि राजनीतिक तथा विभिन्न कारणले सो अनुसार हुन सकेको छैन।

राष्ट्रिय खेलुदको पहिलो संस्करण विसं २०३८ भदौ २७ देखि असोज ४ सम्म राजधानी काठमाडौँमा भएको थियो। सुरुआतमा देशका १४ अञ्चलको प्रतिनिधित्व हुने गरी प्रतियोगिता सञ्चालन हुने गरेको थियो।

विसं २०४० मा पोखरामा दोस्रो संस्करण हुँदा, विसं २०४२ मा तेस्रो संकरण विरगञ्जमा भएको थियो। तेस्रो आयोजनाको १३ वर्षपछि विसं २०५३ मा नेपालगञ्जमा चौथो संस्करणको राष्ट्रिय खेलकुद आयोजना गरियो। गणतन्त्र स्थापनापछि विसं २०६५ मा राजधानी काठमाडौँमा पाँचौँ संस्करण भयो। विगतमा राजाले उद्घाटन गर्ने परम्परा रहेको राष्ट्रिय खेलकुद पहिलो पटक तत्कालीन राष्ट्रपति रामवरण यादले गरे।

सुदूरपश्चिममा विसं २०६८ मा छैटौँ संस्करणको राष्ट्रिय खेलकुद भएकामा सातौ संस्करण विराटनगरमा विसं २०७३ मा आयोजना गरियो। नेपालगञ्जमा विसं २०७५ चैतमा आठौँ राष्ट्रिय खेलकुद भएको थियो। आठौँ राष्ट्रिय खेलकुदको साढे तीन वर्षपछि गण्डकी प्रदेशमा अहिले नवौँ सुरु भएको हो।

नवौँ राष्ट्रिय खेलकुद पोखरा