काठमाण्डौ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव बहिष्कार गरेका समूहमाथि सरकारले उच्च निगरानी थालेको छ । देशका विभिन्न ठाउँबाट चुनाव बिथोल्ने गतिविधि गर्ने तयारीमा रहेका समूहका १ सय १५ जना पक्राउ परेका नेपाल प्रहरीको तथ्याङ्क छ । तीमध्ये ११ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईका अनुसार चुनाव बहिष्कार गर्ने समूहमाथि उच्च निगरानी थालिएको छ । नेत्रविक्रम चन्द विप्लवसहित केही दल तथा समूह चुनाव बहिष्कार गर्ने घोषणा गरी विरोधी गतिविधिमा संलग्न छन् ।
२० भन्दा धेरै समूह सक्रिय रहेकाले सुरक्षा चुनौती बढेको गृह मन्त्रालयको निष्कर्ष छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले केही दल तथा समूह चुनाव विरोधी गतिविधिमा संलग्न रहेका तर चुनावलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न कार्ययोजना बनाएर काम भइरहेको बताउनुभयो । चुनाव विरोधी गतिविधि गर्ने र कानुन हातमा लिन खोज्ने समूहलाई निगरानी भइरहेको र त्यस्ता गतिविधिमा संलग्न भएको पाइएमा आवश्यक कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ ।
चुनावलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न सुरक्षा विशेष योजना बनाएर लागू गरिएको गृह प्रवक्ता पोखरेलको भनाइ छ । उहाँले मतदाता तथा चुनावमा खटिने कर्मचारी, उम्मेदवारलगायत सबैको सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
गृह प्रवक्ता पोखरेलले विरोधी समूहलाई पनि शान्तिपूर्ण रुपमा चुनावमा भाग लिन आग्रह गर्नुभएको छ । मंसिर ४ को चुनावमा तीन घेराको सुरक्षा प्रबन्ध हुनेछ । पहिलो घेरामा नेपाल प्रहरी तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुँदैछन् । चुनाव आउन अब ५ दिन मात्रै बाँकी छ ।
चुनाव सुरक्षा