Logo
१२ वैशाख २०८१, बुधबार

गाउँपालिकासँग परिषदले समन्वय नगर्दा तीन वर्षदेखि अुधरै रंगशला

अक्षरपाटी
२०७९ मंसीर २२ , बिहीबार ०४:१२ मा प्रकाशित

रेसुङ्गा । गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रंगशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ।

जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रंगशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरु हुन सकेको छैन।

राष्ट्रिय खेलकुद परिषद्मार्फत ठेक्का भई पहिलो चरणमा माटो काट्ने, भर्ने, पर्खाल निर्माण र दुबो रोप्ने काम दुई करोड ८० लाखमा सम्पन्न भएको निर्माणको जिम्मा पाएको सुनकोसी अभियान जेभी काठमाडौंका इञ्जिनियर पृथ्वीबहादुर शाहीले जानकारी दिए।

बुल्मचौरलाई एक सय पाँच मिटर लम्बाइ र ६८ मिटर चौडाइले रंशालाको रूप दिएको छ।

दोस्रो चरणमा एक करोड ५० लाख लागतमा भवन, प्यारापिट निर्माण, रंगशाला वरपर नाली बनाउने र कार्यालयका लागि छुट्टै भवन बनाउने भने पनि यसको सम्झौता अझै नभएको इञ्जीनियर शाहीले बताए।

पहिलो चरणमा गरिएका काम भत्कँदै जाने र दोस्रो चरणको काम समयमै सुरु नहुने कारणले गर्दा रंगशाला निर्माण हुने स्थानका स्थानीय बासिन्दा चिन्तित बन्न थालेका छन्।

रंगशाला बन्ने आशा हराउँदै गएकाले आफूहरूको गौचरन र रातो माटो बिक्री गरेर जीविका चलाउने बाटो पनि हराएको स्थानीय बासिन्दाले गुनासो गरेका छन्।

स्थानीय ओमबहादुर कुमालले तीन वर्षदेखि रंगशाला अलपत्र पर्दा पनि कसैको ध्यान नपुगेको बताए।

“राम्रै चौर थियो गाईभैँसी चराउन भएकै थियो, दशैँमा रातो माटो बेचेर वर्षभरको घर खर्च चल्थ्यो”, ६६ वर्षीय ओमबहादुर भन्छन्, “रंगशाला बन्दा खुसी भए पनि अहिले काम अघि नबढ्दा दुःखी छौँ।”

सोही स्थानका बेदुमाया कुमाल पनि रंगशाला नबन्ने पिरलोमा छन्। रंगशाला बनेमा घर–घडेरी बिक्री भएर आर्थिक आम्दानी हुने आशा विस्तारै निराशामा परिणत भएको उनले बताए।

सोही स्थानका कृष्णबहादुर कुमाल पनि विकास हुनु सबैका लागि राम्रो भए पनि हुँदाहुँदैको चौरलाई रंगशालाको नाममा त्यसै छोड्न नहुने बताउछन्।

राज्यको लगानी बालुवामा पानीसरह भएको बुल्मचौरका अर्का स्थानीय रुद्रबहादुर कुमालले बताए।

रंगशाला निर्माण सम्पन्न भइसक्दा एक अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको थियो। १५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रंगशाला बन्ने गरी चरण–चरणमा काम सुरु भएको हो।

रंगशाला बनेमा प्रत्यक्ष लाभ लिने बुल्मचौरका तीन सय २५ घरपरिवार यतिबेला निराश अवस्थामा रहेको इस्मा–६ अम्मरपुरका वडाध्यक्ष ढालबहादुर कुँवरले बताए।

जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विकले राष्ट्रिय खेलकुद परिषदमार्फत सिधै ठेक्का भई काम अगाडि बढेकाले आफूहरूले केही गर्न नमिल्ने जानकारी दिए।

आफ्नो मातहतमा नभए पनि समय–समयमा रंगशालाको रेखदेख गर्ने गरेको उनले बताए।

राष्ट्रिय खेलकुद परिषद्ले गाउँपालिकासँग समन्वय नगरीकन रंगशालाको काम अगाडि बढाएकाले अहिलेसम्म आफ्नो मातहतमा काम गर्न नमिल्ने गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए।

आफू निर्वाचित भएर आएपछि बुझ्दा अब रंगशालामा बजेट नआउने भएकाले रंगशाला गाउँपालिकालाई हस्तान्तरण गर्न सम्बन्धित निकायमा माग गरेको पनि अध्यक्ष खड्काले जानकारी दिए।