Logo
४ वैशाख २०८१, मंगलबार

पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

अक्षरपाटी
२०७९ माघ १६ , सोमबार ०१:०१ मा प्रकाशित

काठमाडौं। पत्रकार दामोदर न्यौपानेको नवौं कृति ‘घरको शिक्षा’ लोकार्पण भएको छ।

नेपाल प्रज्ञाप्रतिष्ठानमा शिक्षाविद् डा. विद्यानाथ कोइराला, अक्षरा स्कुलकी प्रधानाध्यापक अञ्जु भट्टराई, शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी, मनोविद डां विजय ज्ञवाली, पुस्तकका प्रमुख पात्र लेखक न्यौपानेका छोरा हार्दिक न्यौपाने लगायतले पसस्तक लोकार्पण गरेका हुन्।

अञ्जु भट्टराईले घर संस्कार सिकाइको पहिलो पाठशाला भएकाले शिक्षामा संस्कार जोडिनुपर्ने बताइन्।

शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले ‘घरको शिक्षा’ पुस्तक पुस्तकको रुपमा नभइ दर्पणको रुपमा आएको अभिभावक, शिक्षक, विद्यार्थीका लागि अमूल्य भएको बताए ।

पुस्तकबारे बोल्ने क्रममा विजय ज्ञवालीले सबैले सुरक्षित मानिएको घर किन असुरक्षित छ भन्ने कुरा लेखकले अप्रत्यक्ष तरीकाले पुस्तकमा देखाएका बताए।

हामी घरलाई सबैभन्दा सुरक्षित ठाउँ मान्छौ। तर, कोरोना संक्रमणको जोखिमका कारण विद्यालय बन्द हुँदा सबैभन्दा सुरक्षित मानिएको घरमै धेरै बालबालिकाले आत्महत्या गरे।

लेखकले घर किन असुरक्षित भन्ने कुरा अप्रत्यक्ष तरीकाले देखाएका छन्। सिकाइ र संस्कारसँग बालबालिकालाई जोड्न नसक्दा हुने यस्ताखाले सम्भावित घटना दोहोरिन नदिन अभिभावक सचेत हुनुपर्ने उनले बताए।

प्राडा विद्यानाथ कोइरालाले पुस्तकले किताब मात्रै बोक्ने प्रवृत्तिको निरुत्साहित गर्दै बालमनोविज्ञान बुझेर अभिभावकले बाल सिकाइमा अगाडि बढ्नुपर्ने बताए।

‘हामी बालबालिकामाथि आफ्नो इच्छा लादिरहेका हुन्छौं। बच्चा चुलबुले हुन्छन्। उनीहरूको सिकाइ विशृंखिलत हुन्छन्। तर, हामी एकोहोरो किताब रटाइरहेका हुन्छौं। यस्तो अवस्थामा पुस्तकभन्दा आफ्नै तरीकाले सञ्चार, प्रविधि, संस्कार, पूजापाठका माध्यमबाट किताबभन्दा धेरै ज्ञान दिन सकिने रहेछ’, कोइरालाले भने।

लेखक न्यौपानेले संस्कारहीनताको कारणले शिक्षा नीति असफल भएको बताए। उनले भने, ‘संस्कारहीनताको कारणले समाज भाँडिएको छ। त्यसलाई ठिक ठाउँमा ल्याउन पुस्तक लेखेको हुँ। हामीले बालबालिकालाई घरबाटै संस्कार सिकाउनुपर्छ। हिंसात्मक वातावरणमा हुर्काएका नानीहरू सामाजिक हुन सक्दैन।’

यसअघि न्यौपानेका एम्बुसमा ६ वर्ष, कर्मः सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट सो, स्वर्णिम समय, स्कुल बेच्ने बालक, हाडको डोको, सम्पदा लडाइँ र दासप्रथाको नयाँ रूप प्रकाशित छन्।

उक्त पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको हो।

 

घरको शिक्षा