Logo
१२ वैशाख २०८१, बुधबार

खैरालाको गर्भा दरबार : ‘भिल्लको देशमा मणी’

अक्षरपाटी
२०७९ माघ २१ , शनिबार १२:०२ मा प्रकाशित

० शंकर खैराली

आधुनिक विकासले कैयौँ प्राकृतिक र ऐतिहासिक संरचनामा ठूलो अन्याय भएका उदाहरण तमाम छन्।

मानिसले विकास खाज्यो र आफैसँग भएका प्राकृतिक तथा ऐतिहासिक संरचनाको संरक्षणलाई महत्व दिएन भने त्यसको अवस्था के हुन्छ ? भन्ने उदाहरण हो कैलाललीको साविक खैराला ३ अर्थात चुरे गाउँपालिका ४ खैरालामा रहेको गर्भा दरबार।

महत्वका हिसाबले यो दरबार पुरातात्विक महत्वको हो। निकै प्राकृतिक सुन्दरता, मौसमी दृष्टिले अनुकूल मौसम र भूगोलका दृष्टिले कैलालीको पहाडी भूभागमा यो दरबार निर्माण गरिएको छ।

स्थानीय लेखक, पत्रकारको दबाब र पहलमा यो दरबारमा पुरातत्व विभागको पनि ध्यानाकर्षण भएको छ। तर संरक्षण, सम्बद्र्धन र पुनसबलीकरणमा भने कुनै पनि निकायको ध्यान गएको छैन। अरु त धेरै परको कुरा स्थानीय पालिकाले पनि यो दरबारलाई ‘भिल्लको देशमा मणी’ का रुपमा व्यवहार गरिरहेको छ।

तर एक वर्षअघि यो दरबार देख्नेले यसको रुप होइन, रंग परिवर्तन गरेर विरुप बनाएको देख्नेछन्।

दरबारका भत्किएका भित्तामा कतै गेरु त कतै सेतो रंग पोतेर विरुप बनाइएको छ। चुरे गाउँपालिकाका सूचना अधिकारी कालीप्रसाद भट्टदेखि वडा प्रमुखसम्मलाई यसबारे जानकारी छैन।

रङ्ग पोतेर कुरुप बनाइएकाे दरबारको हुलिया ।

पालिकाले दरबार संरक्षणलाई अघिल्लो पाँच वर्षमा पनि महत्व दिएन भने नयाँ जनप्रतिनिधिको नजरमा पनि यो दरबार महत्वमा परेको छैन।

विक्रम संवत १९८१ सालमा खडकशमशेर जबराले निर्माण सुरु गरेर १९८६ सालमा सम्पन्न गरेको यो दरबारमा तत्कालीन अवस्थामा डोटी, अछामबाट यो बाटो भएर तराईँ झर्ने हटेरु (पैदल यात्रु) को मेहनत र पसिना पोखिएको छ।

बडेमानका ढुंगा, काठ र कलकत्ताबाट मगाइएको टिनको छानाबाट यो दरबार निर्माण भएको स्थानीय समाजसेवी कृष्णराज योगीले बताएका छन्।

राणा शासनकालमा चौमालामा रहेको दरबारबाट राणाहरु खैरालामा रहेको यही दरबारमा बास बस्न पुग्थे। त्यहाँबाट डोटीको निरौली हुँदै डोटीको दिपायल दरबार पुग्ने गरेको योगी बताउँछन्।

‘राणाहरु सेतो घोडा चढेर आउँथे, हामीहरु पनि उनीहरुले पनि उनीहमरुका आदेशहरुको अनुसरण गर्नुपथ्यो’, योगीले भने ।

त्यसबेला निकै चहलपहल रहने गर्भा दरबारमा २०३२ पछि भने सुनसान बन्यो। गर्भा दरबार खडकशमशेरका साइँला नाति तेजप्रकाशको भागमा परेको थियो। पछि यसको स्वामित्व खैराला गाउँपालिका र गाउँपालिकाबाट बस्नेत प्राविमा आएको बताइन्छ।

१० रोपनी क्षेत्रफलमा फैलिएको दरबार क्षेत्र कतिपय भाग अतिक्रमणमा परेको छ। अन्डरग्राउन्डसहितको दरबार मासको मसला (गाह्रो)बाट बनाइएको हो।

८३ झ्याल र ५३ ढोका रहेको दरबारका अघिल्तिर रहेको सिंह, बाघ, जरायो, खयायोलगायत अनेकन जनावरको कलाकृति रहेको भाग २०५५ सालमा आएको वर्षा र हुरीले भत्काएको कुरा धनगढीबाट प्रकाशित हुने मातृ सन्देश अर्ध साप्ताहिकमा स्थानीय पत्रकारले लामो लेख प्रकाशित गरेका थिए।

त्यसयता यो दरबारका बारेमा आम रुपमा जानकारी हुन थालेपनि यसको संरक्षण, सबलीकरणमा कुनै पनि निकायको ध्यान गएको छैन्।

हाल भने स्थानीय युवाहरुको एक क्लबले उक्त दरबारको मौलिक परिचय नै मासिने र बिग्रिने गरी चन्दा संकलन गरेर रंगरोगन गरे पनि स्थानीय निकायलाई भने थाहासम्म छैन।

गाउँपालिकाले पनि यसको महत्व बुझ्न नसकेको उदाहरण यति महत्वपूर्ण ऐतिहासिक दरबारको आँगन चिरेर सडक बनाउनुबाट प्रष्ट हुन्छ। दरबारको आँगनबाटै सडक खनिएको छ।

दरबारको अस्तित्व नै संकटमा पार्नेगरि खनिएको सडक।

दरबार पछाडि भागमा रहेको लेकाली पाखो, सम्मुखमा टाढा पर देखिने हिमाली श्रृंखला र चैतबैशाखमा दरबार नजिकै फुल्ने लाली गुराँस, ग्रामीण जनजीवन देखाएर पर्यटक लोभ्याउन सक्ने अथाह सम्भावना लाई चुरे गाउँपालिकाले नजरअन्दाज गरेकोप्रति स्थानीय खिन्न छन्।

त्यो मात्र होइन दरबारसम्म पुग्ने चौमालादेखि खैराला मोटरबाटो निर्माण थालिएको दुई दशक हुँदा पनि वर्षेनी भित्ता खन्ने र खाल्डा पुर्ने कामले जोखिम मात्रै बढेको स्थानीय बताउँछन्।

हरेक वर्ष बाढीपहिरोले बिगारेको बाटो सम्याउने काम भए पनि नाली खनेर व्यवस्थित गर्नेमा भने गाउँपालिकाको ध्यान गएको छैन्।

‘एकैपटक बलियो काम गर्यो भने हरेक वर्ष बजेट कसरी सक्ने भन्ने चिन्ता भएर होला नि’, स्थानीय रुटमा सवारी चलाउने एक चालकले नाम नलेखिदिनु भन्दै भने, ‘हत्केलामा ज्यान राखेर गाडी चलाउनुपर्छ, न नाली खन्छन्, न राम्ररी ढुंगा पाटेर बाटो बनाइन्छ। गाउँपालिकाकै मान्छेले बाटो बनाउँछन्। उनीहरु आफ्नै फाइदा हेर्छन्।’

सडक सुविधालाई ध्यान दिने हो र दरबारको संरक्षण राम्ररी गर्ने हो भने खैराला असाध्यै गर्मी हुने धनगढी, चौमाला, कञ्चनपुरमा जनताको गर्मी छल्ने थलोको रुपमा विकास हुनेमा दुई मत छैन। जसले यहाँका जनताको जीवनस्तर निकै माथि उकासिने पक्का छ।

तस्विर सबै : पत्रकार शिवराज योगी

खैराला दरबार