Logo
२७ पुस २०८१, शनिबार

महिना दिनमै ढल्यो एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार, अब कांग्रेस नेतृत्वको सरकार

अक्षरपाटी
२०७९ माघ २६ , बिहीबार ०६:०२ मा प्रकाशित

धनगढी, २६ माघ। प्रदेशसभा बैठकको ध्वनी मतले अस्वीकृत भएपछि सुदूरपश्चिम प्रदेश सरकार एक महिनामै ढलेको छ।

सरकार गठनमा समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टी प्रदेशसभा बैठकमै उपस्थित नभएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मतका लागि राखेको प्रस्ताव अस्वीकृत भएको हो।

उनको प्रस्तावमाथि प्रदेशसभामा छलफल नै हुन सकेन। मुख्यमन्त्रीले प्रदेशका योजना, खाका र विकासको सपनाबारे लामो सम्बोधन गरेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए।

तर निर्णायक मानिएको नागरिक उन्मुक्तिका सबै ७ सांसद काठमाडौंमै भएकाले प्रदेशसभा बैठकमा अनुपस्थित भए। जसका कारण रावलले विश्वासको मत पाउन सकेनन्।

गत पुस २७ गते रावल मुख्यमन्त्री नियुक्त भएका थिए।

रावलले विश्वासको मत नपाएपछि कांग्रेस सत्तामा जाने भएको छ। रावलले विश्वासको मत नपाएपछि सुदूरपश्चिम सरकार कांग्रेसको नेतृत्वमा बन्ने भएको हो।

संविधानको धारा १६८ (२) अनुसार सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशको ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेको छ।

सुदूरपश्चिम प्रदेशसभामा १९ सीट रहेको कांग्रेस सबैभन्दा ठूलो दलका हैसियतले अब कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त हुने भएका छन्।