Logo
२७ पुस २०८१, शनिबार

भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको राष्ट्रपतिको भनाइ, भ्रष्टाचारविरुद्ध सरकार निर्मम हुन्छ: दाहाल

अक्षरपाटी
२०७९ माघ २८ , शनिबार ०२:०२ मा प्रकाशित

काठमाडौं २८ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको बताएकी छन्।

उनले भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक प्रतिबद्धताको खाँचो भएको धारणा राखिन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३२औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन अख्तियार एक्लैको प्रयास मात्र प्रयाप्त नहुने धारणा राखिन्।

उनले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न भ्रष्टाचारकै कारण बाधा पुगेको बताइन्। भ्रष्टाचार राज्यविरुद्धको अपराध भएकाले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता चाहिएको उनको धारणा थियो।

सोही कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार भ्रष्टाचारविरुद्ध निर्मम हुने बताए। उनले भ्रष्टाचारका सवालमा सरकारले शून्य सहनशीलताको नीति लिए बताए।

दाहालले भने,‘जोसुके होस, भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउनेप्रति वर्तमान सरकार प्रतिबद्ध छ। यसका लागि आयोगलाई अधिकार सम्पन्न बनाइने।’

प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रण गरी मुलुकको विकास, नागरिक हित र सुशासन कायम गर्न आयोगलाई स्वतन्त्र, निष्पक्ष र निर्भिकताका साथ अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत आग्रह गरे।