काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनबहादुर विश्वकर्माले आफ्नो दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुनैपनि हालतमा धोका नदिने स्पष्ट पारेका छन्।
उनले प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा दुईतिहाई बहुमत पुर्याउने आफूहरुको तयारी रहेको योजना पनि सुनाए। आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले यस्तो बताएका हुन्।
फागुन २५ गते कांग्रेसले राष्ट्रपति पाएपछि ठूलो दलको हिसाबले कांग्रेसले सरकारको नेतृत्व गर्नसक्ने पनि चर्चा सुरु भएको छ भन्ने प्रश्नमा विश्वकर्माले भने, ‘विगतमा अप्रत्यासित कुरा भएका हुन्। प्रधानमन्त्रीको अभिव्यक्तिमा राष्ट्रिय सहमति हुन्छ भन्ने कुरा नै मैले बुझेको छु, उहाँको चाहना भनेको संविधान र व्यवस्था बचाउने हो, त्यो गठबन्धनको पनि चाहना हो। अहिले यही आधारमा अघि बढ्छौं । कांग्रेसले प्रचण्डलाई धोका दिने ठाउँ कहीपनि छैन्। विश्वास नै नहुँदा त विश्वासको मत दियौं भने विश्वासको यात्रा सुरु भएको छ, अब आठ दलको मत हुन्छ। दुईतीहाईको विश्वास अघि पुर्याउने पक्षमा छौं।’
उनले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनपछि नै सरकारको स्वरुप निर्धारण हुने सुझाए । उनले भने,‘फागुन २५ गतेको राष्ट्रपतिको लागि हुने मतदानको प्रकृतिअनुसार सरकारको स्वरुप निर्धारण हुन्छ । प्रधानमन्त्रीले राष्ट्रिय सहमति गराउँछु भन्नुभएको छ । राष्ट्रिय सहमतिको समय अझै छ । सहमति भएन भने सरकार बनाउने कुरा र भत्काउने कुरा त चलिरहन्छ । यो कुरा अघि एमालेका साथी माधवजीले पनि भन्नुभएको छ, म भन्छु बरु यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाऔं ।’
नेकपा (एमाले) का नेता माधवप्रसाद ढुंगेलले अहिलेको संसद्मा भएको प्रतिनिधित्वले राजनीतिलाई स्थिरता नदिने बताएका छन्। उनले राष्ट्रपतिमा पार्टीले अघि सारेको उम्मेदवार सुवासचन्द्र नेम्वाङ योग्य र सक्षम भएकोले निर्वाचित हुने विश्वास दिलाए। उनले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा चमत्कार हुने पनि दाबी गरे।
उनले भने, ‘राष्ट्रपतिको निर्वाचनमा हामीले अघि सारेको पात्र सुवास नेम्वाङ योग्य र सक्षम पात्र हो। उहाँ संविधानसभामा सबैभन्दा राम्रो भूमिका खेलेको, मध्यस्थतापनि गर्नसक्ने, संयोजन पनि गर्नसक्ने व्यक्ति हो । एमालेले सिंगो देशको साझा व्यक्तिको रुपमा आफूलाई खडा गर्नसक्ने, त्यो योग्यता प्राप्त गरेको र व्यवहारले प्रमाणित गरेको सुवास नेम्वाङलाई अघि सारेको हो।’
जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता एवम् पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले नेपालमा वैचारिक एवम् सैद्धान्तिक राजनीतिले एउटा गोरेटो लिनैपर्ने बताएका छन्।
उनले भने,‘नेपालको राजनीतिमा सबैभन्दा दुःखद् कुरा अवसर र फाईदाको राजनीति धेरै हुँदै गयो । निर्वाचन अघि र पछि समिकरण फेरबदल हुने प्रक्रिया भए । वैचारिक र राजनीतिक रुपमा कसरी अघि बढ्नुपर्छ भन्ने बहस अझै जारी छ । लोकतन्त्रको आन्दोलन समय समयमा धरापमा पर्ने गरेको छ । ००७ सालमा आन्दोलन भयो, ०१७ मा धरापमा पर्यो । नेपालमा वैचारिक एवम् सैद्धान्तिक राजनीतिले एउटा गोरेटो लिनैपर्छ ।’
नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले आफ्नो पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाललाई अस्थिर बनेर लगाईएको आरोपको खण्डन गरेका छन्। उनले नेपालको संसद्को बनोटअनुसार सहमति र सहकार्यको राजनीति अघि बढाउनुपर्ने बाध्यतालाई प्रचण्डले आत्मसात् गरेको र सोहीअनुसार भूमिका निर्वाह गरेको दाबी गरे।
राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने पार्टीको निर्णय राष्ट्रिय हित र जनमतअनुसार रहेको भन्दै उनले उक्त निर्णयको स्वागत गरे।
नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री सोमप्रसाद पाण्डेले अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर बनेको आठ दलीय गठबन्धन लामो समयसम्म जाने दाबी गरेका छन्।
राष्ट्रपतिको निर्वाचनमा पार्टीले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरिसकेकोले त्यसबाट दायाँबायाँ नहुने पनि उनको स्पष्टोक्ति थियो ।