Logo
२७ पुस २०८१, शनिबार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई पनि विश्वासको संकट !

अक्षरपाटी
२०७९ फागुन २० , शनिबार ०७:०३ मा प्रकाशित

धनगढी २० फागुन। विश्वासको मत नपाएपछि महिना दिनमै सरकारबाट बाहिरिएका राजेन्द्रसिंह रावलपछि सुदूरपश्चिम प्रदेशको सत्ता नेपाली कांग्रेसका कमलबहादुर शाहले सम्हालेका छन्।

मुख्यमन्त्री बन्नेवित्तिकै शाह नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका रेशम चौधरीको घरमै पुगेर विश्वासको मत मागे। तर केन्द्रीय सत्ता समीकरण फेरबलद भएपछि विश्वासको मत पाउनेमा शाह ढुक्क भए र आइतबार विश्वासको मत लिँदैछन्।

तर विश्वासको मत लिने तयारी गरेको पूर्व संध्यामा आएर उनलाई पचिल्लो सत्ता गठबन्धनकै सारथीमध्यका माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने धारणा सार्वजनिक गरेका छन्।

नेकपा एमालेसँगको गठबन्धन भत्काएर नेपाली कांग्रेससँग सत्ता समीकरणमा आएको नेकपा माओवादी केन्द्रले नै यथास्थितिमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसकिने बताएको छ।

जसका कारण आइतबार मुख्यमन्त्री शाहले लिन लागेको विश्वासको मत आशंकामा परेको छ। आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्याकेजमा सहमति नभएसम्म मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसकिने निर्णय गरेको छ।

नेपालको संविधानको धारा १६८ को उपधार २ अनुसार बनेको सरकार माघ २६ मा ढलेपछि सोही दिन उपधार ३ अनुसार सबै भन्दा ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

उनले आइतबार विश्वासको मत लिने तयारी गरिरहँदा प्रदेशसभामा ७ सदस्य रहेको नागरिक उन्मुक्तिले पनि लिखित प्रतिबद्धता नदिएसम्म विश्वासको मत नदिने अडान लिएको छ।

पार्टीका संरक्षक रेशम चौधरीलाई भेटेर फर्कनेबित्तिकै पार्टी अध्यक्ष रन्जीता चौधरीले आफ्ना माग सम्बोधनका लागि लिखित प्रतिवद्धता नभएसम्म विश्वासको मत नदिने कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्।

दुई दल जसमध्ये एकको साथबिना मुख्यमन्त्री शाह संकटमा पर्नेछन्। तीं दुबै पार्टीले विश्वासको मत लिने तयारी गरेको पूर्वसंध्यामा यस्तो निर्णय गरेपछि उनले मत पाउनेमा आशंका उब्जिएको छ।

५३ जना सदस्य रहेको सुदूरपश्चिम प्रदेसभामा काँग्रेसका १९, एकीकृत समाजवादीका ४, माओवादी केन्द्रका सभामुख वाहेक १०, एमालेका १०, नागरिक उन्मुक्तिका सात र एक राप्रपा र एक स्वतन्त्र छन् ।