काठमाडौं २६ फागुन। बजारमा आजदेखि डेरीजन्य पदार्थको मूल्य अकाशीयको छ।
प्रसोधन गरेर नौनी निकालिएको दूधकै मूल्य बजारमा लिटरमा १४ रुपैयाँ बढाइएको छ। सरकारले किसानले पाउने गरी दूधको मूल्य ९ रुपैयाँ मात्रै बढाएर ६५ पुर्याए पनि डेरी व्यवसायीले दूध र दूधजन्य पदार्थ सबैको मूल्य छोइनसक्नु बनाएका हुन्।
आजदेखि बजारमा प्रसोधित दूधकै मूल्य लिटरको एक सय पुर्याइएको छ। जबकी त्यसबाट नौनी निकालेर नाफा लिइसकिएको हुन्छ।
त्यस्तै डेरीहरुले मनोमानी रुपमा पनिरको पनि किलोमै १४० रुपैयाँ बढाएका छन्। डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनका अनुसार ७ सयबाट ८४० प्रति किलो पुर्याइएको छ।
नयाँ मूल्य अनुसार उपभोक्ताले अब ११ सयमा पाउँदै आएको घिउका लागि पनि २ सय रुपैयाँ बढी तिर्नुपर्ने भएको छ। मनोमानी रुपमा आइतबारदेखि लागू गर्ने गरी बढाइएको मूल्य अनुसार अब घिउको मूल्य प्रति किलो १३ सय पुर्याइएको छ।
दही पनि छोइ नसक्नु बनाइएको छ। आजसम्म १६५ मा पाइने बट्टाको दहीमा २५ रुपैयाँ बढाएर १९० पुर्याइएको छ भने ११० मा पाइने सादा दही २० रुपैयाँ बढाएर १३० पुर्याइएको छ।
कुनै मापदण्ड पुरा नगरी किसानले ७० प्रतिशत पाउने भन्दै संघले उक्त मूल्यमध्ये दूधको मूल्य आजैदेखि र अन्य पदार्थको मूल्य आइतबारदेखि लागू हुने जनाएको छ।
उपभोक्ताहरु भने किसानको दुहाइ दिएर उपभोक्ताको ढाड सेक्ने काम हुँदा पनि नियामक सरकारी निकाय भने रमिते भएको बताइरहेका छन्।
दूधको मूल्य यसरी वृद्धि गरिँदा बजारमा चिया, कफीदेखि मिठाइजन्य पदार्थ सबैको मूल्य अकासिने छ। सामान्य आय भएकाहरुले बालबच्चाका लागि दिनमा एक गिलास दूध किनेर खुवाउन नसक्ने अवस्था आएको गुनासो उपभोक्ताहरुको छ ।
दूध मूल्य