Logo
१८ मंसीर २०८१, मंगलबार

ठगीको आरोपमा तुलसी बहुमुखी सहकारीका तीन सञ्चालक पक्राउ

अक्षरपाटी
२०७९ फागुन २९ , सोमबार ०८:०३ मा प्रकाशित

विराटनगर २९ फागुन। बचतकर्ताहरुको रकम ठगी गरेको आरोपमा एक सहकारीका तीन जना सञ्चालक पक्राउ परेका छन्।

तुलसी बहुमुखी सहकारीका तीन जना सञ्चालक पक्राउ परेका हुन्। सहकारीमा सदस्यहरुले बचत गरेको १२ करोड ९ लाख रुपैयाँ रकम ठगी गरेको आरोपमा उनीहरुलाई आरोप लागेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरेर पक्राउ परेका तीन जनाको नाम सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा संस्थाका उपाध्यक्ष मोरङ उर्लावारी नगरपालिका–६ का अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका १४ का सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक विराटनगर २ का मन्दीप खवास रहेको प्रहरीले जनाएको छ।

उनीहरु फागुन १ देखि सम्पर्कविहीन थिए। सञ्चालकविरुद्ध सहकारीका एक सय २१ जना बचतकर्ताले फागुन २८ मा जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी थिए।

सोही उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए।

संस्थाको मुख्य कार्यालय विराटनगरमा छ। त्यस्तै झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा सेवा केन्द्र रहेको छ।

सहकारीले सबै सेवा केन्द्रमा गरी करिब एक अर्ब ५० करोड रुपैयाँ बचतकर्तालाई फिर्ता गर्नुपर्ने प्रहरीको अनुमान छ।

सहकारी