काठमाडौं ७ चैत। नेपालमा पहिलो पटक श्रीअयुतचण्डी महायज्ञ एवं श्रीमहागणपति महायज्ञ हुने भएको छ।
५७ दिनसम्म चल्ने महायज्ञको विधिवत शुरुवात २७ फागुनबाटै भएको हो। पशुपतिनाथ एवं वनकाली क्षेत्रमा भूमिपूजन सुरु भएको छ। महायज्ञको मूल कार्यक्रम वैशाख १५ देखि २४ गतेसम्म आयोजना हुनेछ। मारवाडी सेवा समिति नेपालको अगुवाइमा महायज्ञ सुरु भएको हो।
महायज्ञका प्रमुख यजमान वास्तुविद् डा बासुदेवकृष्ण शास्त्रीका अनुसार नेपालमा पहिलोपटक यति ठूलो महायज्ञ आयोजना हुन लागेको हो। उनका अनुसार एक सय कुण्डीय विराट श्रीअयुतचण्डी एवं श्रीगणपति महायज्ञ हुन लागेको हो।
‘फागुन २७ गते भूमि पूजन एवं मण्डप निर्माण, गौरीगणेश पूजन, प्रधान संकल्पपूर्वक आभ्युदयिक श्राद्ध, नवग्रह पूजा, मातृका पूजासहित भएको छ’ शास्त्रीले भने, ‘फागुन २८ गते पञ्चमी तिथिदेखि दुर्गासप्तशती, गणेशअथर्वशीर्ष, श्रीसूक्त आदिको नित्य पाठ आरम्भ भएको छ। महामण्डलेश्वर स्वामी प्रखरजी महाराजको सत्सङ्कल्पमा ०८० बैशाख १० गते देखि २५ गतेसम्म महायज्ञको पूर्णतातर्फ उन्मुख हुनेछ।’
२५१ ब्राम्हाणद्वारा १०० कुण्डीय विराट श्री अयुतचण्डी महायज्ञ एवं श्री गणपति महायज्ञ, श्रीमद्भागवत कथा, सन्त सम्मेलन एवं श्रीकृष्ण रासलिला कार्यक्रम हुनेछ।
महायज्ञको उद्देश्य स्वात्मनिर्भर नेपाल, आर्थिक उन्नति, औद्योगिक क्रान्ति, राष्ट्रको अभ्युदय, स्वरोजगार एवं स्वावलम्बन रहेको छ। वैशाख १५ देखि महायज्ञमा ब्राह्मणहरूद्वारा यज्ञ अवधिभरिमा दस हजार श्रीदुर्गासप्तशती पाठ र चालिस हजार श्रीगणपति अथर्वशीर्ष पाठ गरिने कार्यक्रम छ।
यसैगरी एक हजार श्रीदुर्गासप्तशती पाठ तथा चार हजार श्रीगणपति अथर्वशीर्ष पाठद्वारा एक सय कुण्डमा दशांश हवन, तर्पण, मार्जन गरिने छ।
मारवाडी सेवा समितिका अध्यक्ष कैलाश गोयलका अनुसार महायज्ञ अन्तर्गत जगद्गुरु रामानुजाचार्य स्वामी राघवाचार्यले श्रीमद्भागवत कथाको प्रवचन गर्ने कार्यक्रम छ।
महायज्ञको आकर्षणका रूपमा वृन्दावनबाट आउने टोलीले शास्त्रीय आयामलाई समेटी लीला मञ्चन समेत गर्ने तय भएको समितिका महासचिब प्रमोद अग्रवालले जानकारी दिए।