काठमाडौं । मिटरब्याज पीडित संघर्ष समितिसँग सरकारको दोस्रो चरणको वार्ता गृहमन्त्रालयमा जारी छ । विहीबार बिहान भएको पहिलो वार्ता निष्कर्षविहीन भएपछि आज बिहानदेखि दोस्रो चरणको वार्ता सुरु भएको हो ।
विहीबार साँझ नै दोस्रो चरणको वार्ता हुने भनिए पनि पीडित पक्षले तयारी नपुग्ने भन्दै आज बिहानसम्मको समय मागेका थिए । संघर्ष समितिका तर्फबाट वार्ता टोली सदस्य संघर्ष दाहालले दोस्रो चरणको वार्ताका लागि आफूहरु गृहमन्त्रालयमा रहेको बताए
वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फबाट संघर्ष समिति संयोजक मनोज कुमार पासवानले नेतृत्व गरेका छन् ।
विहीबारको वार्तामा संघर्ष समितिले ९ बुँदे माग सरकारी वार्ता टोलीलाई बुझाएको थियो । आज त्यसमा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुनेछ ।
महोत्तरीबाट पैदल हिँड्दै काठमाडौं आएर आन्दोलन गरिरहेका मिटर ब्याज पीडितहरुसँग वार्ता गर्न सरकारले चैत १३ गते समिति गठन गरेको थियो ।