काठमाडौं । प्रधानमन्त्री त्रिदेशीय कप फुटबलको उपाधिका लागि आज नेपाल र लाओस भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ साढे पाँच बजे सुरु हुनेछ ।
घरेलु समर्थकको साथ पाउने नेपाल आफु भन्दा तल्लो वरीयताको लाओसलाई हराएर उपाधि उचाल्न चाहन्छ । नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीस टोलीले उपाधि जित्नेमा आशावादी रहेको बताएका थिए ।
‘नतिजा प्राप्त गर्नु आवश्यक छ । हामी लाओससँग खेल्न शारीरिक र मानसिक रूपमा तयार छौं । फाइनल खेल उत्कृष्ट हुनेछ । फाइनल फाइनल हो त्यसैले यो महत्त्वपूर्ण छ र सबैजना तयार छन्’ मुख्य प्रशिक्षक एनीसले प्रि-म्याच कन्फरेन्समा भनेका थिए ।
लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । लाओसले दोस्रो स्थानमा रहदै नेपालसँगको फाइनल पक्का गरेको हो ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २-० ले हराएको थियो । नेपाल त्यहिँ नतिजालाई कायम राख्न चाहन्छ । लाओस भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले अहिलेको अवस्थामा उपाधि जित्नु अत्यावश्यक रहेको बताउछन् ।
‘टोलीमा समावेश नयाँ अनुहारका लागि अनुभव र मनोबल बढाउन उपाधि जित्नु महत्वपूर्ण हुनेछ । हामी उपाधिका लागि मानसिक र शारीरिक रूपमा तयार छौं । उपाधि जित्नु हाम्रा लागि महत्वपूर्ण काम हो । नयाँ अनुहारको वर्चस्व रहेको टोलीलाई यसले प्रेरित गर्नेछ,’ कप्तान किरण भन्छन् ।
मुख्य प्रशिक्षक एनीसले फाइनलमा फरवार्ड दीपक राज सिंह ठकुरीले सुरुआती-११ मै मौका पाउने बताएका छन् । उनले स्ट्राइकर अन्जन विष्ट उपाधि भिडन्तमा उपलब्ध हुने तर दुई पहेलो कार्डको कारण पुजन उपरकोटीले खेल गुमाउने बताए ।
यता, लाओसका मुख्य प्रशिक्षक माइकल वेइसले पनि उपाधिका लागि घरेलु टोलीसँग खेल्ने बताएका छन् । ‘यो अनौपचारिक खेल हुनेछ तर फाइनल हो। यो सबैभन्दा महत्त्वपूर्ण छ । हामी यहाँबाट बोल्नु भन्दा पिचमा खेल देखाउनेछौं’, प्रशिक्षक माइकल भन्छन् ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।